रु एक करोडको अक्षयकोष स्थापना

Posted on: 01 Jan, 2019

पुस १७, बेनी (रासस) | म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले महिला र बालबालिकाको क्षेत्रमा काम गर्ने गरी रु एक करोडको अक्षयकोष स्थापना गरेको छ । 

जिल्लामा महिला तथा बालबालिकाको हितमा उपयोग गर्ने गरी स्थापना गरिएको सो अक्षयकोषमा अहिलेसम्म करीब रु ९० लाख सङ्कलन भइसकेको मोना अन्तर्राष्ट्रियका अध्यक्ष चक्रबहादुर थापाले जानकारी दिनुभयो । दरबाङमा सम्पन्न मोनाको सम्मेलनमा रु २५ लाख सङ्कलन भएको थियो । विभिन्न मुलुकमा रहेका यहाँका बासिन्दाले रकम सङ्कलन गर्दै आएका छन् । 

गत कात्तिकमा पोर्चुगलमा भएको साधारणसभाले अक्षयकोषका लागि आर्थिक सङ्कलन अभियानलाई तीव्रता दिन विभिन्न देशमा अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सामाजिक, आर्थिक, स्वास्थ्य, शिक्षा र मानव विकासका लागि प्रमुख समस्या मानिएको बालविवाह र महिला हिंसाको समस्या न्यूनीकरणका लागि परिचालन गर्ने गरी अक्षयकोष खडा गरिएको हो । कोषलाई व्यवस्थित बनाउन कार्यविधि तयार गरी कार्यसमितिलाई प्रस्ताव पेश गर्न योगेन्द्र क्षेत्री, लोक राना, चक्र थापा, योगकुमार फगामी र मुक्ति रोका सदस्य रहेको समिति गठन गरिएको छ । विश्वका विभिन्न देशमा पुगेका म्याग्देली मोनामार्फत सङ्गठित भएका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!