बाग्लुङमा एक वर्षको अवधिमा १५४ बालबालिकामा कुपोषणको समस्या

Posted on: 01 Jan, 2019

पुष १७, बागलुङ (रासस) | बाग्लुङमा एक वर्षको अवधिमा १५४ बालबालिकामा कुपोषणको समस्या देखापरेको छ । उमेरअनुसार तौल नभएका, खान नपाएका र खानाको मात्रा नमिलेका कारण बालबालिकामा कुपोषणको समस्या देखापरेको हो । सुआहारा कार्यक्रमले तयार गरको तथ्याङ्कअनुसार कुपोषणको समस्या भएका बालबालिकाको सङ्ख्या अत्यधिक छ । 

कुपोषण समस्या देखापरेका सबै बालबालिकालाई जिल्ला सदरमुकाममा रहेको धौलागिरि अञ्चल अस्पतालको पोषणगृहमा राखेर उपचार गराइएको छ । स्वास्थ्य कार्यालय र सुआहारा कार्यक्रममार्फत आमा र स्वास्थ्यको सुधारमा तोकिएका सूचक राखेर अनुसन्धान गर्दा कुपोषणको समस्या देखापरेको सुआहारा कार्यक्रमका फिल्ड सुपरभाइजर रेशम नेपालीले बताउनुभयो । उपचार गरेका मध्ये बागलुङ नगरपालिकामा नौ जना जोखिमका परेको देखिएको कार्यक्रमका जिल्ला संयोजक चिरञ्जीवी दाहालले बताउनुभयो । 

त्यस्तै गलकोट र ढोरपाटन नगरपालिकामा तीन÷तीन, जैमिनी नगरपालिकामा दुई, निसीखोला गाउँपालिकामा छ, तमानखोलामा तीन र बडिगाड गाउँपालिकामा दुई जना कुपोषित छन् । गर्भदेखि जन्मेको दुइ वर्षसम्म आमा र शिशुको स्वास्थ्यमा बढी ख्याल गर्नुपर्ने तथा आमाले पोषणयुक्त खाना खाएमा मात्र कुपोषणबाट बचाउन सकिने स्वास्थ्य कार्यालय बागलुङका वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक तिवारीले सुझाव दिनुभयो । “तौल र उचाइको अनुपात नमिलेको र पौष्टिक आहारा नपाए बालबालिका कुपोषित भएर मर्नेसम्मको खतरा हुन्छ”, तिवारीले भन्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!