प्रदेश नं ३ को यी १० जिल्लामा शीत भण्डार बन्दै

Posted on: 01 Jan, 2019

पुस १७, हेटौंडा | प्रदेश नं ३ सरकारले प्रदेशका १० जिल्लामा तरकारी तथा फलफूलको सुरक्षित भण्डारण गर्ने गरी शीतभण्डार सञ्चालन गर्ने भएको छ । शीतभण्डार निर्माणका लागि प्रस्ताव समेत आह्वान भएपछि शीतभण्डार बन्ने पक्का भएको हो । 

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार उपत्यकाबाहेक मकवानपुर, धादिङ, सिन्धुली, रामेछाप, दोलखा, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, चितवन र काभ्रेमा गरी प्रदेशका १० जिल्लामा १३ वटा शीतभण्डार सञ्चालन गरिने छ । एउटा शीतभण्डार निर्माणमा रु चार करोड लगानी लाग्ने र त्यसमध्ये स्थानीय तह, सहकारी एवं निजी क्षेत्र तथा स्वयं किसानलाई समेत केही प्रतिशत लगानी गर्न प्रेरित गरिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बताउनुभयो । 

लामो समयदेखि किसानले शीत भण्डारको स्थापनाको माग राख्दै आएका थिए । शीतभण्डारको अभावमा किसानको लाखांै मूल्यको तरकारी तथा फलफूल कुहिने गरेको थियो । अब किसानको उत्पादनले बजार नपाउञ्जेल तथा उचित मूल्य नआउञ्जेल तरकारी तथा फलफूल शीतभण्डारमा राख्न मिल्ने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बताउनुभयो । “तरकारी किसानकै, फलफूल किसानकै, लगानी किसानकै, मुनाफा किसानकै” मन्त्री लामाले भन्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!