४ सय २३ चालकको सवारी अनुमतिपत्र खारेज

Posted on: 02 Jan, 2019

पुस १८, काठमाडौँ | महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४२३ चालकको सवारी अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । 

महाशाखाले पटक÷पटक मापसे सेवन गरेर सवारीसाधन चलाएपछि लाइसेन्समा प्वाल पार्दै आएको थियो । विसं २०६८ मङ्सिर १७ देखि मापसे जाँच अभियान थालिएको हो । महाशाखाले २०६९ मङ्सिर २२ गतेदेखि मापसे गरी सवारीसाधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्न थालेको हो । हालसम्म विभिन्न चरणमा गरी एक लाख ७८ हजार १९८ चालकको लाइसेन्समा प्वाल पारिएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिनुभयो । 

पहिलोपटक एक लाख ३७ हजार ९५२, दोस्रो पटक २६ हजार ७२७, तेस्रो पटक आठ हजार ८४०, चौथो पटक तीन हजार १२३ र पाँचौ पटक एक हजार १३३ चालकको लाइसेन्समा प्वाल पारिएको थियो । “खारेज गरिएका सवारी चालकले पुनः परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ,” उहाँले भन्नुभयो, “दुर्घटना घटाउन र मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको अभिलेख राख्नका लागि उक्त व्यवस्था गरेका हौँ ।” 

आर्थिक वर्ष २०७०÷७१ मा ५२, आव २०७१÷७२ मा १२२, २०७२÷७३ मा १३३, २०७३÷७४ मा ४१, २०७४÷७५ मा ५८ र चालू आवमा १७ चालकको लाइसेन्स खारेज गरिएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!