कर्णालीमा १ सय १४ जना कुष्ठरोगका बिरामी भेटिए

Posted on: 02 Jan, 2019

सुर्खेत १८ पुस । झण्डै नौ बर्ष अघि नेपालबाट कुष्ठरोग निवारण भएको घोषणा गरिएपनि सुर्खेतमा वर्षेनी २६ जना नयाँ कुष्ठरोगीहरु फेला पर्ने गरेको छन् । कर्णाली प्रदेशमा कुष्ठरोगका ११४ जना नयाँ बिरामी फेला परेका हुन् । सन् २०१० मा नेपालबाट कुष्टरोग निवारणको घोषणा गरिएको थियो । आर्थिक वर्ष २०७४÷०७५ मा प्रदेशका १० जिल्लामा नयाँ रोगी पत्ता लागेका हुन् ।

तीमध्ये सर्ने सम्भावना भएका १ सय ५ र नसर्ने ९ जना छन् । सुर्खेतमा कुष्ठरोग सम्वन्धी उपचार र निवारण गर्दै आएको आइएनएफ सुर्खेतले जिल्लामा प्रति वर्ष २६ जनासम्म नयाँ कुष्ठरोगीहरु फेला पर्ने गरेको जनाएको छ । गैरसरकारी संस्था आइएनएफका अनुसार सबैभन्दा बढी बिरामीको संख्या सुर्खेतमा देखिएको छ । सुर्खेतमा एक वर्षको अवधिमा २६ जना नयाँ बिरामी फेला परेका छन् । आइएनएफ सुर्खेत क्लष्टर इन्चार्ज मंगल थारुले नयाँ फेला परेका कुष्ठरोगीहरुमा धेरैजसो बढी किटाणुबाट संक्रमित भएको पाइएको छ ।

इन्चार्ज थारुका अनुसार जाजरकोटमा २०, दैलेखमा १०, कालिकोट र रुकुममा ९÷९ जना नयाँ बिरामी फेला परेका छन् । यस्तै, जुम्ला, मुगु र सल्यानमा ३÷३ र हुम्लामा एक जना बिरामी फेला परेका छन् । सरकारले सन् २०२० सम्ममा नेपालबाट कुष्ठरोग उन्मुलन गर्ने लक्ष्य लिएको छ । प्रति १० हजार जनसंख्यामध्ये एक जनाभन्दा कम गर्ने लक्ष्य लिइए पनि बिरामीहरू वर्षेनी बढ्दै जाँदा यसमा चुनौती देखिएको छ ।

आईएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालका प्रबन्धक मंगल चौधरीका अनुसार नेपालमा पनि वर्षेनी ३ हजारभन्दा बढी कुठरोगका बिरामी फेला पर्ने गरेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार यो क्रम बढ्दो मात्रामा देखिएको छ । उनका अनुसार अहिले कर्णाली प्रदेशका जाजरकोट, दैलेख, कालिकोट र रुकुममा नयाँ कुष्ठरोगी फेला पर्ने क्रम निकै बढेको छ ।सुर्खेतमा प्रति १० हजारमा एक जनाभन्दा कमलाई कुष्ठरोग हुने गरेको पाइएपनि नयाँ फेला पर्ने क्रमपनि नरोकिएकोले उपचारमा चुनौती थपिएको आइएनएफ सुर्खेतले जनाएको छ । साइनिङ अस्पतालमा साउन यता १० जना बिरामी उपचारमा आएका छन् । गत वर्ष ६० जना बिरामी उपचारमा आएको अस्पतालले जनाएको छ । अस्पतालले हालसम्म १० हजार ८ सय बिरामीलाई सेवा दिएको छ ।

कुष्ठरोग उपचारका लागि अस्पतालमा २५ वटा शैय्याको क्षमता छ । गत वर्ष १ सय ४६ जना उपचारका लागि भर्ना भएको अस्पतालका प्रबन्धक चौधरीले बताए । ब्याक्टेरियाका कारण कुष्ठ रोग लाग्छ, जुन श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्काेमा सर्ने गर्छ । कुष्ठरोगको क्षेत्रमा शोध गरिरहेकी सुडानकी डा. उल्लाब्रिट एंगेल ब्रेक्टसनले मानव इतिहासको पुरानो मानिने यो रोग लाग्ने बित्तिकै धामी–झाँक्रीतिर जाने हुँदा उपचारमा ढिलो मात्र आउने गरेको पाइएको बताइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!