मदिरा नियन्त्रणमा जुट्दै रोल्पा नगरपालिका

Posted on: 04 Jan, 2019

उमा केसी | पुस २०, रोल्पा | मदिराका कारण समाजमा विकृति बढ्दै गएको भन्दै रोल्पा नगरापलिकाले यसको उत्पादन, बिक्री वितरण र सेवनलाई व्यवस्थित गर्ने भएको छ । नगर क्षेत्र भित्रका सरोकारवालाको सुझावका आधारमा निकट भविष्यमा हुने नगरपरिषद्बाट नीति बनाइ कार्यान्वय गर्ने भएको हो । 

मदिराकै कारण धनजनको क्षति, अनुशासनहीनता र अराजकता बढेकोले पनि यसको नियन्त्रणमा नगरपालिकाले नीति बनाएर कडाइ गर्न लागेको हो । जिल्लामा घट्ने अपराध, आत्महत्या, घरेलु हिंसा, लैङ्गिक हिंसा, बलात्कार र दुर्घटनामा समेत मदिरा जोडिन आएकाले यसको नियन्त्रणमा नगरपालिका जुटेको हो । मदिरा नियन्त्रणसम्बन्धी अधिकार समेत स्थानीय सरकारलाई प्रत्यायोजन भएपछि यसलाई व्यवस्थित गर्न लागिएको हो । 

“नगर कार्यपालिकाको सातांै बैठकले मदिरा बेचबिखनलाई मर्यादित बनाउने र सेवनलाई नियन्त्रणमुखी बनाउने निर्णय गरेको हुँदा सोहीअनुरुप गर्ने गरी प्रक्रिया थालनी गरेका छांै”, नगर प्रमुख पूर्ण केसीले भन्नुभयो । मदिरासँग जोडिएर विभिन्न घटना घट्ने र त्यसका कारण समाज नियन्त्रण बाहिर जान थालेको प्रति नगर प्रमुख केसीले चिन्ता व्यक्त गर्नुभयो । “यसलाई समयमै नियन्त्रण गर्नु जरुरी भइसक्यो ”, नगर प्रमुख केसीले भन्नुभयो । 

मदिरा सेवन, बेचबिखन र उत्पादनको आचारसंहिता बनाइ कार्यान्वय गर्ने योजनामा नगरपालिका रहेको बताइएको छ । मदिरा ऐन २०३१ र नियमावली २०३३ अनुसार मदिरा उत्पादन, बिक्री वितरण र सेवन गर्नेलाई कारवाही गर्ने अधिकार दिए पनि ऐन प्रभावकारी रुपले कार्यान्वय भएको देखिदैन । 

पछिल्लो पटक गृह मन्त्रालयले कार्यकारी आदेश २०७५ समेत जारी गरेको छ । जारी आदेशमा स्थानीय तहले कार्ययोजना बनाइ लागू गर्ने उल्लेख गरिए पनि जिल्लाका कुनै पनि गाउँपालिकाले यस तर्फ ध्यान दिएको देखिदैन । त्रिवेणी र माडी लगायतका केही गाउँपालिकाले नियन्त्रणको पहल थालनी गरेको स्थानीय प्रशासनको भनाइ छ । 

मादकपदार्थ सेवनकै कारण समाजमा विकृति बढेको प्रति सबै सहमत देखिएका छन् । जिल्लामा घट्ने घटनामध्ये धेरैजसो घटना मादकपदार्थसँग जोडिएर आउने गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । लैङ्गिक हिंसा, घरेलु हिंसा, बलात्कार, आत्महत्या, दुर्घटना जस्ता घटनाको कारक मादक पदार्थ देखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक खड्काको भनाइ छ । 

स्थानीय सरकारले मादक पदार्थ नियन्त्रणका लागि आवश्यक कानून बनाए आफूहरुलाई कार्यान्वयन गर्न सहज हुने खड्काको भनाइ थियो । स्थानीय सरकार, जनप्रतिनिधि र नागरिक सबैले मादकपदार्थ उत्पादन, बिक्री वितरण र सेवनमा नियन्त्रण गर्ने निर्णय गरे कार्यान्वयनमा सहज हुने प्रहरीको सुझाव छ । 

विगतमा पनि प्रहरी र स्थानीय प्रशासनको समन्वयमा जिल्लाका केही वडामा मदिरा नियन्त्रणको प्रयास हुँदै आएपनि पूर्णरुपमा सफल हुन सकेको थिएन । रोल्पा नगरपालिका– २ ले आमा समूहको अगुवाइमा उक्त अभियानको थालनी गरेको थियो । “प्रहरीको सहयोगमा अभियान थालनी गरे पनि नजिकका वडाको उदासिनताले सफलता हासिल हुन सकेन”, पारिजात आमा समूहका अध्यक्ष गौमाया केसीले भन्नुभयो । 

सोही अभियानलाई सघाउन चालु आर्थिक वर्षको बजेटबाट रु दुई लाख ५० हजार विनियोजन गरिएको उक्त वडाका वडाध्यक्ष खिमबहादुर घर्तीले बताउनुभयो । “एकाध वडाको एकल प्रयासले मात्रै यस्ता अभियान सफल नहुने भएकाले समग्र नगरपालिकालाई मदिरामुक्त बनाउने गरी घचघचाएका हौँ”, वडाध्यक्ष घर्तीले भन्नुभयो । 

नगर उपप्रमुख मनकुमारी घर्तीको संयोजकत्वमा गठित आचारसंहिता तयारी समितिले दिएको प्रतिवेदनलाई नगर सभावाट अनुमोदन गराई लागू गर्ने पक्षमा नगरपालिका रहेको बताइन्छ । आचारसंहिता अनुसार कुन कुन समय, स्थान र उमेर समूहले मादकपदार्थ उत्पादन, बिक्री वितरण र सेवन गर्ने भन्ने विषय समावेश हुने बताइएको छ । 

पटक÷पटक उठ्दै सेलाउँदै जाने मदिरा नियन्त्रण अभियानले यस पटक सार्थकता पाउने स्थानीयवासीले आशा गरेका छन् । नगरपालिकाको अगुवाइ तथा जनप्रतिनिधिको सक्रिय सहभागितामा अभियानको शुरुवात गरिएकाले यसको नियन्त्रणमा सघाउ पुग्ने आशा गर्न सकिने महिला अधिकारकर्मी तीर्था आचार्यको धारणा छ । मदिरा नियन्त्रण गर्न सके घरेलु हिंसा पनि कम हुने अधिकारर्मी आचार्यको भनाइ थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!