कर्णालीका महिलाद्वारा मुख्यमन्त्रीलाई ध्यानाकर्षण

Posted on: 04 Jan, 2019

पौष २०, सुर्खेत । कर्णालीका महिलाहरुले प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ध्यानाकर्षण गराएका छन् । कर्णालीका महिलाहरुको समस्या समाधानको लागि उनीहरुले ध्यानाकर्षण गराएका हुन् । बिहीवार एक कार्यक्रमका बीच शान्ति न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल(संकल्प) कर्णाली प्रदेश र क्रियाशिल पत्रका महिला डब्लुडब्लु जे सुर्खेतले मुख्यमन्त्री कार्यालय पुगेर उक्त ज्ञापनपत्र पेश गरेको हो ।


संकल्पका कर्णाली प्रदेश अध्यक्ष सितलसिंह राठौरले सो पत्र मुख्यमन्त्री शाहीलाई प्रदान गरेकी हुन् । अझैपनि यस क्षेत्रका महिलाहरुमा व्याप्त धार्मिक तथा सांस्कृतिक कारणले हिंसा खेप्न बाध्य भएको भन्दै कर्णाली सरकारलाई ध्यानाकर्षण गराएको संकल्पका कर्णाली प्रदेश अध्यक्ष सितलसिंह राठौरले बताइन् ।  ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शाहीले कर्णालीका महिलाहरुका समस्या समाधानका लागि प्रतिवद्ध हुने बताए । यसको लागि सामुहिक प्रयास आवश्यक रहेको शाहीले औल्याए । ‘यस क्षेत्रमा विकृतिहरु व्याप्त छन्’ मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘यस्ता विकृतिहरु न्यूनिकरण गर्दै हामी सामुहिक भावनासँगै अघि बढ्नुपर्छ ।’ विकृति विरुद्ध चेतना फैलाउनुपर्नेमा मुख्यमन्त्री शाहीले जोड दिए ।

यस क्षेत्रमा आत्महत्याको अवस्था विकराल रहेको भन्दै यसलाई विशेष कार्यक्रमका साथ न्युनिकरणमा प्रदेश सरकार लाग्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । त्यसैगरी जबरजस्ती करणीका घटनाहरु दिनप्रतिदिन बढ्दै गएको भन्दै पीडिकलाई कारवाहीको दायरामा ल्याउनुपर्ने विज्ञप्तीमार्फत माग गरिएको छ । ‘बालविवाहको कारण महिला घरेलु हिंसाको सिकार भएका छन्’ ज्ञापनपत्रमा भनिएको छ, ‘विभिन्न जनचेतनामुलक कार्यक्रम पछि समस्या केही हदसम्म समाधान भएपनि यसलाई न्युनिकरण गर्न प्रभावकारी कदम चालिनुपर्छ’  त्यसैगरी द्धन्द्धको समयमा बलात्कारमा परेका महिलाहरु अझै पनि न्याय पाउन नसकेको भन्दै यसतर्फ पनि सरकारको ध्यान जानुपर्ने विज्ञप्तीमा उल्लेख छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!