प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभालाई सम्वोधन गर्दै

Posted on: 06 Jan, 2019

पुष २२, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आइतबार दिउसो १ बजे प्रतिनिधि सभालाई सम्बोधन गर्दैछन्। प्रधानमन्त्री ओलीले विपक्षीले उठाएको प्रश्नको जवाफ दिने बताइएको छ। पछिल्लो समय सरकारका काम कारवाहीप्रति भएको गुसाना र टिप्पणीका विषयमा पनि प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा समेट्ने बताइएको छ।

वाइडबडी विमान खरिदमा आर्थिक अनियमितता भएको भन्दै सरकारको आलोचना भइरहेको छ। लेखा समितिले गठन गरेको उपसमितिले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै प्रतिवेदन समितिमा बुझाएको छ। उक्त प्रतिवेदनमा अहिलेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्रीहरु जितेन्द्र नारायण देव र जीवनबहादुर शाहीलाई पनि दोषी ठहर गर्दै कारवाहीको सिफारिस गरेको हो ।

त्यस्तै, उक्त मन्त्रालयका तत्कालीन सचिवहरु प्रेम राई, शंकरप्रसाद अधिकारी, वहालवाला सचिव कृष्णप्रसाद देवकोटा तथा नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार लगायतलाई पनि दोषी ठहर गर्दै कारवाहीको सिफारिस गरिएको छ । सो सम्बन्धमा लेखा समितिले अन्तिम निर्णय गर्न भने बाँकी नै रहेको छ । 

वर्तमान सरकारले काम भन्दा बोलीलाई प्राथमिकता दिएको भन्दै आलोचना भइरहेको बेला प्रधानमन्त्रीले संसदमा सम्बोधनमार्फत सरकारको धारणा राख्न लागेका हुन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!