नमुनादीप युवा क्लबले गर्‍यो छात्रवृत्ति दिने घोषणा

Posted on: 06 Jan, 2019

पौष २२, रामेछाप । रामेछाप जिल्लास्थित नमुनादीप युवा क्लब, सैपुले विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । क्लबको दोस्रो कार्यसमितिको बैठकले ७ वटा विद्यालयका गरीब, जेहेन्दार र उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको हो ।   

क्लबका अध्यक्ष राजन बस्‍नेतकाअनुसार लिखुतामाकोशी गाउँपालिका वडा नं २ सैपुको कालिकादेवी आधारभूत विद्यालय,  अरुणोदय मावि, शहिदस्मृति मावि, चण्डेश्वरी माविका विद्यार्थीलाई प्रदान गर्न लागिएको हो । त्यसैगरी  दुरागाउँको त्रिपुरेश्वर मावि र शङकरेश्वरी आधारभुत विद्यालय, ओखलढुङ्गा लेतिको लेति माविका विद्यार्थीलाई रकम दिने निर्णय भएको छ ।

क्लबले प्रत्येक विद्यालयका १/१ जना गरीब जेहेन्दार विद्यार्थीलाई ५ हजार र विद्यालयको सर्वोत्कृष्ट १/१ जना विद्यार्थीलाई १० हजार रकम प्रदान गर्ने अध्यक्ष बस्नेतले बताए ।


खेलकुदमा प्रतियोगिता गराउँदै र सहभागी हुँदै आएको क्लबले सामाजिक विकासको कार्यक्रमलाई समेत प्राथमिकतामा राखेर विद्यार्थीलाई शिक्षामा प्रोत्साहन गर्न छात्रबृत्ति दिने निर्णय गरिएको नमुनादीप युवा क्लबका उपाध्यक्ष निरोज पौडेलले जानकारी दिए । उनले आयआर्जन, सामुदायिक विकास सचेतना र आर्थिक तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा समेत कार्यक्रम सञ्चालन गर्ने बताए ।

बैठकले सैपु, दुरागाउँ र लेतिका विभिन्न स्थानमा खेलकुद सामाग्री माघमसान्तभित्र प्रदान गर्ने निर्णय गरेको छ । बैठकले क्लबको सल्लाहकार समिति र संरक्षण समितिसमेत बनाएको छ ।

यसैगरी क्लबको सामुदायिक सूचना केन्द्र हाल वडा कार्यालयले प्रयोग गरिरहेकोले मर्मत तथा रंगरोगन गर्न वडा कार्यालयलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ ।

यो पनि पढ्नुहोस् नमुनादीप युवा क्लबमा नयाँ नेतृत्व


यस बिषयमा तपाइको प्रतिक्रिया...!