पातीखोला र रतिखोलामा दोहनमा जनप्रतिनिधिकै मिलेमतोमा

Posted on: 07 Jan, 2019

रतिखोलामा भइरहेको अवैध उत्खननले मोदी गाउँपालिका ६ तिलाहारमा बस्ती नै जोखिमा परेको छ । खोलाबाट भइरहेको ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननले वडाका नदी छेउ किनाराका बस्ती जोखिममा परेका हुन् ।

वडा र कास्की अन्नपूर्ण गाउँपालिकाका सँग जोडिएको सल्यानको बस्ती पहिरोको जोखिममा परेको हो । बस्ती नै जोखिममा पर्ने गरी ढुंगागिट्टीको निकासी हुँदा पनि स्थानीय जनप्रतिनिधिले बेवास्ता गर्दै आएका छन् ।

अनुमतिविनै नदी उत्खनन
केही ठेकेदारले स्थानीय तहबाट अनुमति लिएर नदी उत्खनन गरेका हुन् । तर, नदी क्षेत्रमा करिब एक दर्जनजति स्काभेटर र जेसिबीले विनाअनुमति नै नदी दोहन गरिरहेको पाइएको छ । सहारापार्टीले मध्यरातमा स्काभेटर प्रयोग गरी अबैध उत्खनन् हुने गरेको खबर प्रकाशन गरेपछि प्रहरीले स्काभेटर नियत्रन्णमा लिएको जनाएको छ ।

नदी किनारबाट दुई सय मिटर माथि बस्ती छ । दुबैतिर बस्ती भएका कारण वर्षयाममा कुन बेला कुन ठाउँको बस्ती बगरमा परिणत हुने हो एकिन छैन तर नदीमा दोहन कार्य जारी छ ।

बस्ती उठीवास हुने डर
नदी किनार क्षेत्रका अधिकांश जनप्रतिनिधि आफैँले स्काभेटर भाडामा लिएर अवैध उत्खनन गरिरहेकोसमेत पाइएको छ । जनप्रतिनिधिहरु नै पर्वतमा अबैध रुपमा नदीजन्य बस्तुहरुको तस्करीमा लागेका छन् । कालीगण्डकी नदीमा प्रहरी प्रशासन र क्रसर व्यवसायीहरुको जुहारी नै चल्छ । प्रहरीले क्रसर व्यवसायीका मेसिन पक्राउ गरी ल्याउने र क्रसर व्यवसायीहरु सानो रकम तिरर जिल्ला समन्वय समितिबाट फिर्ता लिने कुकुर विरालाको खेल जारी छ । रतिखोलाको नदी दोहनले थामार्जुङको बस्ती नै जोखिममा पर्ने देखिएको छ ।

यता मोदी गाउँपालिकामा भने मिलेमतो जस्तै देखिएको छ । प्रहरी चौकीकै नजिक मोदीमा अबैध उत्खनन् हुदाँ समेत प्रहरी वेखबर रहेको स्थानीयहरु बताउँछन् ।

उत्खननमा गाउँपालिका अध्यक्षकै संलग्नता
नदीको अवैध उत्खननमा मोदी गाउँपालिकाकै अध्यक्ष प्रेम पौडेलको प्रत्यक्ष संलग्नता देखिएको छ । उनले पातीखोलाको दोहनको लागि आफ्नो खेत प्रयोग गरी अबैध रुपमा स्काभेटर प्रयोग गरी उत्खनन् कार्य गरेको स्थानीयबासीहरुले जनाएका छन् । स्थानीयहरुका अनुसार अध्यक्ष पौडेलको ज्यामिरेमा रहेको खेतबाटै दोहन कार्य शुरु भएको हो । उनको गत वर्ष घर पातीखोलाको बाढीले जोखिमा परेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!