काठमाडौंबाट लागुऔषध र विभिन्न देशका नगदसहित तीनजना पक्राउ

Posted on: 07 Jan, 2019

पुस २३, काठमाडौँ | महानगरीय प्रहरी वृत्त महाराजगञ्जले लागुऔषध र विभिन्न देशका नगदसहित तीन जनालाई पक्राउ गरेको छ । 

वृत्तको टोलीले लागुऔषध र विभिन्न देशका नगद लिएर हिँडिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–४ सुकेधाराबाट धापासीका ३० वर्षीय तीर्थराज उपाध्याय, बौद्धका ३५ वर्षीय धर्मराज लामा र पानीपोखरी बस्ने २३ वर्षीय पराग कार्कीलाई आज बिहान पक्राउ गरेको हो । 

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार बा ७७ प ९९०६ र बा ९२ प १८२० नं का स्कुटर चेकजाँचका क्रममा १० किलोग्राम ब्राउनसुगर, १० ग्राम चरेश, दुई थान चक्कु र लागुऔषध सेवन गर्न प्रयोग हुने विभिन्न सामग्रीसमेत फेला पारिएको छ । 

पक्राउ परेकासँग प्रहरीले रु चार लाख ७३ हजार १०० नेपाली रुपैँया, एक हजार ४०० भारतीय रुपैया, २० अमेरिकन डलर, नेपाल बैँक लिमिटेडको नाममा रहेको रु एक लाख नगदको चेक र डिजिटल क्यामरा एक थानसमेत बरामद गरेको छ । 

यसैगरी, महानगरीय प्रहरी प्रभाग साँखुले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले दुई किलो गाँजा लिएर हिँडिरहेको अवस्थामा शङ्करापुर नगरपालिका–४ का ४५ वर्षीय तुनुक दोर्जे लामालाई आइतबार राति पक्राउ गरेको हो । पक्राउ परेकाको आवश्यक अनुसन्धान भइरहेको प्रभागले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!