आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Posted on: 07 Jan, 2019

पुस २३, काठमाडौं । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । १८ करोड ६६ लाख ५ हजार बिगो दावीसहित अख्तियारले विशेष अदालतमा आज मुद्धा दायर गरेको आयोकका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो । 

अख्तियारले श्रीमती शर्मिला खड्का र अमिता लामाका नाममा अकुत रुपमा आर्जन गरेको सम्पत्ति लुकाएको आरोप लगाएको छ। अख्तियारको अनुसन्धानमा खड्काले अवैध रुपमा आर्जन गरेको सम्पत्ति लामाको नाममा राखेको दाबी गरिएको छ।

खड्काको १८ करोड ६६ लाख रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति जफत, त्यति नै जरिवानाको मागसहित आयोगले मुद्दा दर्ता गरेको हो।अख्तियार प्रमुखमा नवीनकुमार घिमिरे आएपछि पछिल्लो समय चलाइएको सबैभन्दा ठूलो बिगो दाबी गरिएको मुद्दा हो।

अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार दुई वर्षसम्म कैद सजाय, बिगो बमोजिम जरिवाना तथा बिगो भाराउन माग गरेको छ।खड्काले गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वभाविक जीवनयापन गरेको दाबी अभियोगपत्रमा गरिएको छ।

सरकारले मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाएको ९ महिनापछि गत जेठ तेस्रो साता खड्काले पदबाट राजीनामा दिएका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!