राष्ट्रिय परिचयपत्र आधुनिक युगको प्रतीकः मन्त्री भण्डारी

Posted on: 07 Jan, 2019

पुष २३, सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले राष्ट्रिय परिचयपत्रले आधुनिक युगको प्रतीकात्मक प्रतिनिधित्व गर्ने बताएका छन् । गृह मन्त्रालयले आज वीरेन्द्रनगरमा आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यशालालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले उक्त अभियानमा हरेक नागरिक सहभागी हुनुपर्ने बताएका हुन् ।

उनले राष्ट्रिय परिचयपत्र हरेक नागरिकको सुरक्षित र आधिकारिक अभिलेख भएको बताउनुभयो । ‘यसले राज्यको पहुँचबाट टाढा रहेकालाई सेवा प्रवाह गर्न मद्दत पुग्नेछ’, मन्त्री भण्डारीले भने, ‘परिचयपत्र वाहक हरेक नागरिक सार्वजनिक सेवा प्रवाहसंग जोडिनु आफैमा नयाँ युगकै थालनी हो, सम्वृद्ध नेपाल सुखी नेपालीको नारालाई यो अभियानले पनि आत्मसाथ गरेको छ ।’ सरकारले चालू आवमा कर्णाली प्रदेशका जुम्ला र सल्यानमा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु गर्न लागेको छ । गृह मन्त्रालयले १६ वर्ष उमेर पुरा गरेका नागरिकको वैयक्तिक एवं जैविक सूचनासहितको आधुनिक प्रविधियुक्त राष्ट्रिय परिचयपत्र वितरणको अभियान सञ्चालनमा ल्याएको हो ।


मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रामप्रसाद थपलियाले राष्ट्रिय परिचयपत्रको अभियानले समुन्नत समाजको परिकल्पना गरेको बताए । ‘फोटोसहितको बायोमेट्रिक स्मार्ट कार्डले डिजिटल प्रदेशको अभियानमा टेवा पु¥याउन सक्छ’ उनले भने । प्रदेश प्रहरी प्रमुख डिआईजी महेशविक्रम शाहले सबै परिचयपत्रको मूल पत्रका रुपमा राष्ट्रिय परिचयपत्रको अवधारणा आएकाले यस अभियानसंग हरेक नागरिक जोडिनुपर्ने बताए । जिल्ला समन्वय अधिकारी दुर्गाप्रसाद चालिसेले सरकारी कर्मचारीहरु प्रविधिमैत्री बन्न नसके अभियान प्रभावकारी रुपले अघि बढ्न नसक्ने धारणा राखे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!