बाँकेमा बाघको छालासहित २ जना पक्राउ

Posted on: 07 Jan, 2019

पुस २३, राँझा | बाँकेको कोहलपुरमा बाघको छालासहित दु्ई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । 

दैलेखका ३६ वर्षीय कमल खत्री र कञ्चनपुरका २१ वर्षीय हरि ढकाललाई कोहलपुर नगरपालिका–११ बसपार्कबाट बाघको छालासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो । 

नेपाल प्रहरीको प्रदेश नं ५ अनुसन्धान ब्यूरो र इप्रकाबाट खटिएको टोलीले एक थान बाघको छाला र हड्डीसमेत बरामद गरेको उहाँले बताउनुभयो । बरामद छाला र हड्डी बाँके राष्ट्रिय निकुञ्जमा बुझाइएको प्रहरीले जनाएको छ । 

गम्भीर घाइते 

कोहलपुरमा मोटरसाइकलको ठक्करबाट एकजना साइकलयात्री गम्भीर घाइते भएका छन् । राप्तीसोनारी गाउँपालिका निवासी २२ वर्षीय वीरेन्द्र खत्रीले चलाएको मोटरसाइकलको ठक्करबाट कोहलपुर नगरपालिका–२ रझेनाका लछिराम थारू गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक खत्रीलाई समेत सामान्य चोट लागेको छ । दुबै जनाको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!