जाजरकोटमा नौ वर्षदेखि प्रसूतिगृह भवन बन्द

Posted on: 09 Jan, 2019

पुस २५, जाजरकोट | जाजरकोटको नलगाड नगरपालिका–४ लहँ खालचौरस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहको भवनमा विगत नौ वर्षदेखि ताला लागेको छ । 

बत्ती, पानी, घेराबार, आवश्यक औजारको अभावमा उक्त भवन प्रयोगविहीन भएको पाइएको हो । समुदाय सहयोग कार्यक्रम केयर नेपाल संस्थाको रु नौ लाख ८० हजार आर्थिक सहयोग तथा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको समन्वयमा २०६७÷०६८ सालमा उक्त भवन निर्माण भएको थियो । भवन प्रयोगमा नआउँदा महिलालाई सुरक्षित सुत्केरी सेवा लिन समस्या भएको स्वास्थ्यचौकीकी अनमी जयन्ती शाहीले बताउनुभयो । 

प्रसूति गराउन समस्या छ, पुरानो जीर्ण भवनको एउटा कोठाबाट सेवा प्रवाह हुँदै आएको अनमी शाहीले जानकारी दिनुभयो । नयाँ भवन बनेको छ, प्रयोगमा छैन यसले समस्या बनाएको छ, शाहीले भन्नुभयो । दिनमा तीन-चार जना महिला सुत्केरी हुन आए भने राख्ने ठाउँ नै हुँदैन, खुला ठाउँमै राखेर भए पनि सेवा दिनुपर्ने बाध्यता छ, शाहीको भनाइ छ । भवन प्रयोगविहीन हुँदा सेवा दिन कठिन भइरहेको छ शाहीले बताउनुभयो । 

नौवर्ष बित्दासमेत सुत्केरीको लागि बनेको घर प्रयोगमा नआउनु दुःखको विषय भएको अहेब कृष्णबहादुर शाहले बताउनुभयो । खानेपानी, बिजुली बत्तीको व्यवस्था, वरिपरि घेराबार, सुत्केरी गराने श्ययालगायतको व्यवस्था नहँुदा यो भवन प्रयोगमा आउन नसकेको अहेब शाहको भनाइ छ । स्वास्थ्य संस्थामा बजेट नहुने र वडा, नगर, जिल्लाबाट बजेट व्यवस्था नहुँदा भवन प्रयोगमा ल्याउन नसकिएको हो, शाहले भन्नुभयो । यसतर्फ सरोकारवाला निकायले चासो दिएको देखिँदैन । 

यो संस्थामा साविकको लहँ गाविसको वडा १ भारगाउँ, २ को थाप्ला, ३ को मानचौर, ४ को माझगाउँ, ५ को बाउँसेखोला, ६ को पोखरा, ७ को मुली, ८ को ऐराडी, ९ गर्छिनाबाट महिला स्वास्थ्य जाँच तथा सुत्केरी हुन आउने गर्छन् तर भवनको उचित व्यवस्थापन नहुँदा सुत्केरी सेवा लिन बाहिर जानु पर्ने बाध्यता रहेको छ । रासस |

यस बिषयमा तपाइको प्रतिक्रिया...!