बर्दियाको बढैयाताल गाउँपालिकामा आत्महत्या रोक्न योजना तर्जुमा

Posted on: 09 Jan, 2019

 पुस २५, नेपालगञ्ज | बर्दियाका आठ स्थानीय तहमध्ये बढैयाताल गाउँपालिकामा अहिले आत्महत्याका घटना बढ्दै गएपछि स्थानीय जनप्रतिनिधिलगायत सबैको चिन्ता र चासो बढेको छ । 

‘‘आत्महत्याका घटना बढिरहेको अवस्थालाई दृष्टिगत गरी गाउँपालिकाले त्यसको रोकथामका लागि योजना नै तर्जुमा गरेको छ’’ अध्यक्ष लालबहादुर श्रेष्ठको भनाइ छ । योजनाअनुसार, स्थानीयस्तरमा आत्महत्याविरुद्धको चेतनामूलक सन्देश प्रवाह, युवा वर्गलाई आत्महत्या, मानसिक र मनोरोग र यसको उपचार पद्धतिका बारेमा प्रशिक्षण दिने गरिएको उहाँले बताउनुभयो । 

गाउँपालिकाले आफ्नो योजनामा स्थानीय प्रहरी कार्यालय, नागरिक समाजका अगुवा, समाजसेवी, मानसिक रोग विशेषज्ञ चिकित्सक र स्थानीयवासीलाई पनि समेटेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण वलीका अनुसार, बढैया ताल गाउँपालिकामा आर्थिक वर्ष २०७३÷७४ मा १७ जना, २०७४÷७५ मा २१ जना र चालू आर्थिक वर्षको अहिलेसम्म १० जनाले आत्महत्या गरेका छन् । 

‘‘यो डरलाग्दो तथ्याङ्क हो, यसले राम्रो सन्देश प्रवाह गर्दैन्’’ क्षेत्रीय प्रहरी अस्पतालका मानसिक रोग विशेषज्ञ प्रहरी नायब उपरीक्षक डा आशिष दत्तको भनाइ छ । आत्महत्या मनोवैज्ञानिक तथा जैविक एवं सामाजिक जटिलता हो । विज्ञानले यसलाई मनो–सामाजिक जटिलतासँगै गम्भीर मानसिक समस्याको रुपमा लिने गरेको छ । 

यस्तो मानसिक अवस्थाको तत्काल उपचार गर्नुपर्ने डा दत्तको सुझाव छ । बढैयाताल गाउँपालिकाले अहिले डा दत्तकै अगुवाइमा खासगरी किशोरकिशोरी र युवा वर्गलाई मानसिक रोग, आत्महत्या गर्ने कारण, मनोरोग, लागुऔषध सेवनबाट हुने प्रभाव तथा यसको रोकथाम र उपचार विधिका विषयमा प्रशिक्षण दिने गरेको छ । 

मानसिक रोग विज्ञेषज्ञ डा दत्तका अनुसार, नेपालमा आत्महत्या गर्नेमा १५ देखि ४४ वर्ष उमेरका नागरिकको सङ्ख्या धेरै छ । “डिप्रेसनमा परेका, एक पटक आत्महत्याको प्रयास गरेका, लागुऔषधको सेवनकर्र्ता, गतिशील सोचमा हरेस खानु, निराशावादी व्यक्ति, एक्लोपन, एकल महिला, सामाजिक रुपमा सहयोग नपाउने, बहिष्कारमा परेकामा आत्महत्याको जोखिम उच्चमा रहेको छ । 

बर्दियाको बढैयातालमा भएका आत्महत्याको तथ्याङ्कले पनि त्यहाँ मानसिक रोगको जोखिमतर्पm सङ्केत गरेको छ । त्यसैलाई दृष्ट्रिगत गरी विशेषज्ञको परामर्शका आधारमा गाउँपालिकाले आत्महत्या विरुद्धको अभियान नै सञ्चालन गर्दै आएको छ । 

गाउँपालिकाअन्तर्गतका विद्यालय, कलेज र समुदायस्तरमा आत्महत्याविरुद्ध वृहत सचेतनामूलक कार्यक्रम तथा मानसिक रोग बढनुको कारण, यसको पहिचान र उपचार विधिका विषयमा गाउँपालिकाले प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको छ । बढैया ताल गाउँपालिकामा भइरहेका आत्महत्या घटनाका कारणका विषयमा इलाका प्रहरी कार्यालय मैनापोखरले सुक्ष्म अध्ययनसमेत गरिरहेको प्रहरी निरीक्षक वलीले बताउनुभयो । रासस |

यस बिषयमा तपाइको प्रतिक्रिया...!