दैलेखमा आठ बालविवाह रोकियो

Posted on: 10 Jan, 2019

पुस २६, दुल्लु | दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा आठ बालविवाह रोकिएका छन् । वडा कार्यालय र गैर सरकारी संस्थाको सक्रियतामा पछिल्लो एक महीनामा आठ बालविवाह रोकिएको हो । 

वडाध्यक्ष राजुकुमार खत्रीका अनुसार यही पुस महीनामा मात्रै उमेर नपुग्दै गर्न लागिएका आठ बालविवाह रोकिएका हुन् । भोजसहित विवाह गर्न तयार रहेका जोडीका अभिभावकलाई वडा कार्यालयमा बोलाएर छलफलपछि विवाह रोकाइएको थियो । 

गत दुई वर्षको अवधिमा बालविवाह गर्नेको सङ्ख्यामा कमी आए पनि पछिल्लो समय बालविवाह गर्नेको सङ्ख्या बढेकाले वडा कार्यालय र त्यहाँ कार्यरत गैससले सक्रियता देखाएका हुन् । वडामा रहेको स्वास्थ्यचौकी र महिला सशक्तिकरण मञ्च दैलेख शाखा पनि बालविवाह रोक्न जुटेको छ । बालविवाह हुने तयारीबारे जानकारी हुनेबित्तिकै केटा र केटी पक्षका अभिभावकलाई वडामा बोलाएर बालविवाहबाट हुने असर, बालविवाहबारे कानूनी प्रावधानबारे जानकारी गराएर दुवै पक्षको सहमतिमा विवाह रोकाइएको थियो । 

केटा र केटी दुवै पक्षले उमेर पुगेपछि मात्रै विवाह गर्ने प्रतिबद्धता गर्ने गरेका छन् भने उमेर नपुग्दै विवाह गरेमा उनीहरुका अभिभावकलाई नै कारबाही गरिने वडाध्यक्ष खत्रीले बताउनुभयो । 

कारागारलाई किताब 

जिल्ला कारागारमा पुस्तकालय अभियान अन्तर्गत दैलेख जिल्ला प्रहरी कार्यालयका प्रमुख ठाकुरप्रसाद पोखरेलको संयोकत्वमा ११ सदस्यीय उपसमिति गठन गरिएको छ ।कर्णाली प्रदेश प्रहरी कार्यालयले १० वटै जिल्लाका कारागारमा किताब अभियान शुरु गरेकामा उक्त कार्यालयले बुधबार आयोजना गरेको सर्वपक्षीय बैठकमा सो उपसमिति गठन गरिएको हो । 

नयाँ भवनमा कैदीबन्दी सारिएको चार वर्षदेखि नै उक्त कारागारमा पुस्तकालय सञ्चालन हुँदै आएको थियो । 

उक्त कारागारको पुस्तकालयमा इन्सेकले गत वर्ष धार्मिक, कानूनी तथा मानवअधिकारसम्बन्धी किताब दिएको थियो । कारागार प्रमुख जीतबहादुर खत्रीको अग्रसरतामा कारागारभित्र मन्दिर निर्माणको काम अघि बढाइनाका साथै योगाभ्यास र अन्य रचनात्मक कार्य सञ्चालन हुँदै आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!