बन्दीपुरमा फोहरमैला सङ्कलन केन्द्र निर्माण

Posted on: 10 Jan, 2019

पुस  २६, दमौली | तनहुँको बन्दीपुर गाउँपालिकाले फोहरमैला सङ्कलन केन्द्र निर्माण गरेको छ । 

गाउँपालिकाको शहरी क्षेत्रबाट उत्पादन हुने फोहरमैला व्यवस्थापनका लागि वडा नं १ को कुखुरेपानीमा फोहरमैला सङ्कलन केन्द्र निर्माण गरिएको हो । गाउँपालिका वडा नं १ का अध्यक्ष भानुभक्त पोख्रेलले रु २५ लाखमा सङ्कलन केन्द्र निर्माण गरिएको बताउनुभयो । गाउँपालिकामा फोहरमैला सङ्कलन केन्द्र नहुँदा समस्या उत्पन्न भएपछि पाँच रोपनी सार्वजनिक जग्गामा केन्द्र निर्माण गरिएको हो । 

“फोहरमैला सङ्कलन केन्द्र नहुँदा चुँदी खोला नजिक जथाभावी फोहरमैला बिसर्जन गर्नुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “अब भने फोहरमैला व्यवस्थापनका लागि सहज हुने विश्वास गरिएको छ ।” 

गाउँपालिकाको शहरी क्षेत्रबाट दैनिक दुई ट्र्याक्टर फोहर सङ्कलन हुने गर्छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले फोहरमैला केन्द्र निर्माण गर्न केही समय अघिदेखि नै प्रयास गरिएको भए पनि जग्गाको पहिचान हुन नसक्दा ढिलाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्कलन केन्द्रका लागि उपयुक्त खोजी गरिरहेका थियौँ, जसकारण केही समय ढिला हुन गयो ।” 

उहाँका अनुसार गाउँपालिकालाई पूर्ण सरसफाइ र वातावरणमैत्री बनाउने लक्ष्य लिइएको छ । उक्त लक्ष्य प्राप्तिका लागि गाउँपालिकाभित्रका टोल विकास संस्थालाई सरसफाइ र वातावरणमैत्री गतिविधिमा टेवा पुर्याउन गाउँपालिकाले सहयोग गर्ने थापाले बताउनुभयो । रासस |

यस बिषयमा तपाइको प्रतिक्रिया...!