चितवन कारागारमा क्षमताभन्दा तीनगुणा बढी कैदी

Posted on: 10 Jan, 2019

 पुस २६,भरतपुर | चितवन कारागार भरतपुरमा क्षमताभन्दा करिब तीनगुणा बढी कैदीबन्दी राखिएको छ । दुई सय ५५ कैदीबन्दी क्षमता रहेको कारागारमा महिला ६७, पुरुष ६२० र पाँच आश्रित बालबालिकासहित ६९२ कैदीबन्दी राखिएको हो । 

महिला बन्दीगृहको क्षमता २० जना मात्रै हो, भने पुरुष बन्दीगृहको क्षमता २३५ मात्रै हो । महिला कैदीबन्दी गृहमा क्षमताभन्दा चौगुणा बढी राख्नुपरेको कारागारका शाखा अधिकृत तथा जेलर कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । आश्रित पाँच बालबालिका पनि महिला कैदीबन्दी गृहमा बस्छन् । मकवानपुर जिल्लामा महिला कैदीबन्दी गृह नभएका कारण सबै चितवन ल्याउने गरिएको काफ्लेले बताउनुभयो । आधा महिला कैदीबन्दी मकवानपुर जिल्लाका मात्रै छन् । “लागुऔषध र मानव बेचबिखनका घटना मकवानपुरमा धेरै हुने गरेका छन्, काफ्लेले भन्नुभयो’ “त्यस कारण पनि धेरै महिला कैदीबन्दी मकवानपुरबाट ल्याइने गरिएको छ ।” 

आर्थिक वर्ष २०७४÷७५ मा पुस महीनामा ६०० कैदीबन्दी रहेका थिए । त्यसयता चितवन कारागारले एकैपटक ७०० बढी कैदीबन्दीको भारसमेत थेग्नुपरेको काफ्लेले बताउनुभयो । विभिन्न अपराधमा मुद्दा खेपिरहेका कैदी तथा बन्दीको सङ्ख्यामा अधिक वृद्धि भएको कारण कारागार सञ्चालनमा समस्या हुनेगरेको उहाँको भनाइ छ । छिमेकी जिल्ला पूर्वी नवलपरासीमा अदालत र प्रशासन भएर पनि कारागार नहुँदा पुर्पक्ष र कैद भुक्तानका लागि कैदीबन्दी चितवनमा नै पठाउने गरिएकोले चाप झन बढेको काफ्लेले बताउनुभयो । रोग लागेका कैदीको उपचारमा सहज हुने भएकाले अन्य जिल्लाबाट समेत उपचारका लागि कैदीबन्दीलाई चितवन ल्याइने गरिएको छ । पूर्वी नवलपरासीबाट अहिलेसम्म ८९ बन्दी चितवन ल्याइएका छन् । 

कारागारमा सबैभन्दा धेरै जबर्जस्ती करणी मुद्दाका १ सय ५६ जना, लागूऔषध बिक्री तथा प्रयोग गर्नेमा १५० जना, गैँडा मारी खाग बिक्री व्यवसायमा संलग्न १०६ छन् । यस्तै, कर्तव्य ज्यान मुद्दाका ८८, सवारी ज्यान मुद्दाका ४८ चोरी मुद्दाका २७ जना तथा मानव बेचबिखन मुद्दाका ३० कैदी तथा बन्दी रहेका छन् । 

अन्तर्राष्ट्रिय मान्यताअनुसार क्षमताभन्दा बढी कैदीबन्दी राख्न पाइँदैन तर, यो मान्यताभन्दा धेरै गुणा बढी बन्दीको कारागार बसाई कष्टपूर्ण बनिरहेको छ | रासस |

यस बिषयमा तपाइको प्रतिक्रिया...!