पश्चिमी वायुको प्रभावले हल्का वर्षा र हिमपातको सम्भावना

Posted on: 11 Jan, 2019

 पुस २७,काठमाडौँ  | मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिएको छ । 

पश्चिमी वायुको प्रभावले आगामी तीन दिनसम्म मौसममा आंशिकदेखि सामान्य बदली देखिए पनि बेलाबेला घाम पनि लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस अवधिमा न्यूनतम् तापक्रम नघटे पनि अधिकतम् तापक्रम घट्ने भएकाले चिसो बढ्ने महाशाखाका मौसमविद् विभूती पोखरेलले राससलाई जानकारी दिनुभयो। 

त्यस्तै भोलि पनि मौसममा आंशिकदेखि सामान्य बदली हुने र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

पुस २९ गते पनि मुलुकभर मौसममा आंशिकदेखि सामान्य बदली यथावत रहने पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ | रासस |


यस बिषयमा तपाइको प्रतिक्रिया...!