त्रिभुवन विमानस्थलमा आन्तरिकतर्फ पनि २५ वटासम्म रात्री उडान

Posted on: 11 Jan, 2019

पुस २७, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई ट्राफिक जामलाई कम गर्न आन्तरिकतर्फ पनि रात्री उडान थालिएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्ध, यति, श्री एयरलाइन्सले बेलुका ६ बजेपछि राती ९ बजेसम्म २५ वटा उडान गर्ने तालिका बनाएका छन् ।

यसअघि आन्तरिक उडान बेलुका ६ बजे नै बन्द गर्ने गरिएको थियो । तर, अब यात्रुको चापलाई हेरेर एटीआर विमान भएका एयरलाइन्सले रातीको उडान तालिका बनाएका हुन् ।

त्रिभुवन विमानस्थलबाट हाल दैनिक १०-१२ वटा उडान रातिकै समयमा हुन थालेको छ । लाइटिङ सिस्टम जडान भएका तराईका एयरपोर्टमा साँझ ६ बजेपछि बढी उडान गराउन लागिएको हो ।

सिमरा,  विराटनगर, भैरहवा,  नेपालगञ्जमा रातिको समयमा पनि उडान भर्न सम्भव छ । धनगढीको एयरपोर्टमा पनि साँझसम्म उडान गर्न सकिन्छ । निकट भविष्यमै चन्द्रगढी र जनकपुर एयरपोर्ट पनि राति उडान गर्न योग्य बनाइँदै छ । यी दुई एयरपोर्ट पनि स्तरोन्नतिपछि राती हुने उडान थप्ने योजना विमानस्थल कार्यालयको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!