‘डीएसपी हूँ’ भन्दै आपराधिक गतिविधि गर्दै हिँड्ने एक व्यक्ति काठमाडौंबाट पक्राउ

Posted on: 11 Jan, 2019

पुस २७, काठमाडौं | नेपाल प्रहरीको डीएसपी हूँ भन्दै अपराधिक गतिविधि गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर बालकोटका ३५ वर्षीय अनिल थापा रहेका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले बहालवाल डीएसपी हूँ भन्दै काठमाडौंको दरबारमार्ग र ठमेल क्षेत्रको होटल, रेष्टुराहरुमा धाक धम्की दिँदै अपराधिक गतिविधि गर्दै आएका थापालाई बिहीबार राति ११ बजे कमलादीबाट पक्राउ गरेको हो ।  


बहालवाला डीएसपी हूँ भन्दै होटल तथा रेष्टुराहरुमा खाएको खानाको समेत पैसा नतिर्ने र महिलाहरुमाथि दुर्व्यवहारसमेत गर्दै आएको विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

पक्राउ परेका थापा लामो समयदेखि अपराधिक गतिविधिमा संलग्न रहेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । 

२०६९ सालमा जबर्जस्ती करणी मुद्दामा जेल परेर गत भदौमा छुटेका अनिल थापाबारे सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!