बैतडीमा अपाङ्गताको घरमै पुगेर नागरिकता प्रदान

Posted on: 12 Jan, 2019

पुस २८, बैतडी | बैतडीको दशरथचन्द नगरपालिका–२ का २२ वर्षीया हीरा बोहरालाई शुक्रबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिइएको छ । 

अपाङ्गता भएकी बोहरालाई प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले घरमै पुगेर नागरिकताको प्रमाणपत्र वितरण गर्नुभएको हो । अपाङ्गता भएकी हीरा हिँडडुल गर्न नसक्ने भएकाले आफूले घरमै पुगेर नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी गैरेले बताउनुभयो । 

अपाङ्गता भएकी छोरीलाई घरमै प्रमुख जिल्ला अधिकारी पुगेर नागरिकता प्रदान गरेकोमा निकै खुशी लागेको हीराका बुबा पूर्ण बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “जेठी छोरीलाई घरमै पुगेर नागरिकता प्रदान गर्दा केही सहयोग पुग्ने आशा गरेका छौँ” नेपाली नागरिकताको प्रमाणपत्र पाएपछि आफू खुशी भएको हीराले बताउनुभयो । 

यसैबीच पूर्णबहादुर बोहराका अपाङ्गता भएका दुईछोरीको पठनपाठनका लागि घरमै शिक्षकको व्यवस्था गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ बैतडी, दशरथचन्द नगरपालिका–२ को कार्यालय र निङ्गलाशैनी विद्यालय व्यवस्थापन समितिको समन्वयमा घरमै शिक्षकको व्यवस्था गरिएको वडा नं २ का वडाध्यक्ष रनबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “हीरा र करिश्मालाई दैनिक दुई घण्टा घरमै पढाउने व्यवस्था मिलाएका छौँ” करिश्मालाई कक्षा १० को र हीरालाई कक्षा ५ को कोर्स घरमै पढाउने व्यवस्था गरिएको बताइएको छ । 

संविधानमै शिक्षाबाट कोही पनि वञ्चित हुन नपर्ने उल्लेख भएकाले उनीहरुका लागि घरमै शिक्षाको व्यवस्था गरिएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिनुभयो । यसअघि प्रमुख अवस्थीले पुस १ गते अपाङ्गता भएका बालबालिकालाई उनीहरुको घरमै पुगेर रु १० हजार नगद रकम हस्तान्तरण गरेका थिए । अपाङ्गता भएका बालबालिकालाई अनेरास्ववियुका जिल्ला अध्यक्ष भुवन कार्कीले पनि गत मङ्सिर ६ गते आफ्नो जन्मदिनको खर्च कटाएर नगदसहित लत्ताकपडा सहयोग गरेका थिए । 

पूर्णबहादुर बोहराका चारमध्ये तीन छोराछोरी अपाङ्गता भएका छन् । बोहराका २२ वर्षीया छोरी हीरा, १५ वर्षीया करिश्मा, १० वर्षीय जयन्त बोहरा अपाङ्गता रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!