बाग्लुङमा प्रहरीको कुटाइबाट दुई जना घाइते

Posted on: 16 Jan, 2019

माघ २, बागलुङ | प्रहरीको कुटपिटबाट गलकोट नगरपालिका–६ का सोम बस्नेत र कृष्ण खत्री घाइते भएका छन् । हटिया प्रहरी चौकीका जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट बस्नेत र खत्री घाइते भएका हुन् । 

गम्भीर घाइते बस्नेतको पोखरास्थित फेवा सिटी अस्पतालको सघन कक्षमा उपचार भइरहेको उहाँकी श्रीमती कृष्णकुमारीले जानकारी दिनुभयो । आइतबार राति गलकोट नगरपालिका–३ हटिया बजारस्थित प्रहरी चेकपोष्टअघि दुवै जनामाथी कुटपिट गरिएको हो । खत्रीको अवस्था सामान्य छ । “घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्छ,” घाइते बस्नेतकी श्रीमती कृष्णकुमारीले भन्नुभयो । 

कुटपिटमा संलग्न प्रहरी जवान विष्ट र थापालाई इलाका प्रहरी कार्यालय हरिचौर सरुवा गरिएको छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरी निरीक्षक केशवसिंह थापाले बताउनुभयो । दोषी देखिए कारवाही गरिने उहाँको भनाइ छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!