दैलेखमा भूकम्प प्रतिरोधी भवन निर्माणबारे जानकारी

Posted on: 16 Jan, 2019

माघ २, दुल्लु | एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज बिहान दैलेखमा भूकम्प प्रतिरोधी भवन निर्माणबारे जानकारी गराइएको छ । ‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न सङ्घ, प्रदेश र स्थानीय सरकार’ भन्ने मूल नारासहित भूकम्प सुरक्षा दिवस मूलसमारोह समिति दैलेखद्वारा आयोजित कार्यक्रममा भूकम्प प्रतिरोधी भवन निर्माणको प्रविधिबारे सर्वसाधारण नागरिकलाई जानकारी गराइएको हो । 

विपद् व्यवस्थापनका लागि जिल्ला अगुवाई सहयोगी संस्था सोसेकका उप–कार्यकारी निर्देशक वसन्त श्रेष्ठले प्रविधिबारे जानकारी गराउनुभएको हो । उहाँले भवनसंहिता र भवन निर्माण मापदण्ड, भवन निर्माण संहितामा समावेश गरिएका विषय प्रष्ट्याउनुभएको थियो । उपकार्यकारी निर्देशक श्रेष्ठले भवनका प्रकार, पिलरवाला भवन बनाउँदा ध्यान दिनुपर्ने विषय र गारोवाला भवन निर्माण गर्दा ध्यान दिनुपर्ने विषय जानकारी गराउनुभएको थियो । 

सो अवसरमा भूकम्प, विपद् व्यवस्थापन सम्बन्धी नीति नियमावली, २०७२ वैशाखमा गएको भूकम्पबारे क्षतिबारे जानकारी दिनुका साथै नेपालमा भूकम्पको कारणबारे सर्वसाधरणलाई जानकारी गराइएको थियो । 

कार्यक्रममा नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्काले भूकम्प प्रतिरोधी भवन निर्माण गर्न सबैलाई आह्वान गर्नुभयो । उहाँले सरकारले तयार पारेको घर बनाउने ५५ वटा मापदण्डअनुसार भवन निर्माण गर्नुपर्ने बताउँदै सरकारी तथा गैरसकारी कार्यालयको बजार केन्द्रित कार्यक्रम ग्रामीण बस्तीमा लैजान आग्रह गर्नुभयो । 

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्न लागिएको बताउँदै उक्त योजना बनाउने जिम्मा विपद् व्यवस्थापनका लागि जिल्ला अगुवाई सहयोगी संस्था सोसेकलाई दिइएको जानकारी गराउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!