दैलेखको ग्यास अन्वेषण गर्न चिनिया परियोजना स्विकृत

Posted on: 17 Jan, 2019

माघ ३, दैलेख । सरकारले ग्यास खानीको अन्वेषण गर्न एक चिनिया परियोजनालाई स्विकृत गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले दैलेख र पाल्पाको तानसेनमा भएको ग्यास खानीको अन्वेषण गर्न चिनियाँ परियोजनालाई स्वीकृति दिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन् ।

नेपालले बेला–बेलामा भोग्ने इन्धन संकट अन्त्यको लागि यो परियोजना महत्वपूर्ण हुने पनि उनले बताए । सुर्खेतको वीरेन्द्रनगरमा शितभण्डार बनाउन सरकारले ५० लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ । यस्तै मन्त्रिपरिषद्को बैठकले भारतसँग रेल किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक स्विकृति दिएको छ ।

मन्त्रालयले जी टु जी प्रणाली अन्तरगत भारतसँग रेल किन्ने छ । जनकपुर कुर्था रेलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगे पनि रेलको टुंगो लागेको छ ।  यस्तै मन्त्री परिषद्को बैठकले पानीजहाज सञ्चालन गर्नको लागि नेपाल पानीजहाजको कार्यालय स्थापना गर्ने र १६ जना कर्मचारीसहित कार्यालय पनि स्थापना गर्ने निर्णय  पनि गरेको छ । यस्तै मन्त्रीहरुले आफ्नो तलब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नभई सम्बन्धित मन्त्रालयबाटै लिने पनि निर्णय गरेको छ । यस्तै सञ्चयकोषको अध्यक्षमा शिशिरकुमार ढुंगानालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । यस्तै बैठकले लगानी सम्मेलन २०१९ आउँदो चैत्र १५ र १६ गते हुने लगानी सम्मेलनलाई ऐतिहासिक बनाउने र समृद्ध नेपाल निर्माणको सपना पुरा गर्न सम्मेलनको भरपुर उपयोग गर्ने पनि निर्णय गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!