नवलपरासीमा बँदेल आतङ्क, ४ जना घाइते

Posted on: 18 Jan, 2019

माघ ४, परासी | पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ मा बँदेल आतङ्क बढेको छ । सो वडाका पथरहिया, सालबास, आनन्दनगर, सिमलटारी, बासाबसहीलगायत गाउँमा दिनहुँ बँदेलले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रस्त भएका छन् । 

नजिकैको जङ्गलबाट आएका बँदेलले आतङ्क मच्चाउनाका साथै अहिलेसम्म चारजनालाई घाइते बनाइसकेको छ । बँदेलले खेतमा लगाइएको हिउँदे बालीलाई नोक्सानी पुर्याउनाका साथै मानिसलाई आक्रमण गर्न थालेपछि दिउँसोको समयमा एक्लै हिँड्न पनि गाह्रो भइरहेको स्थानीयवासी बताउँछन् । 

बँदेलको आक्रमणमा परी सरावल–१ बस्ने वैजनाथ कामीको ११ वर्षीया छोरी रीता विक, वडा नं २ स्थित कुटी बस्ने वर्ष २५ का रामप्रसाद महतो, वडा नं १ बस्ने वर्ष २८ का प्रेम नारायण महतो र रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–११ बस्ने वर्ष २५ का भुवन महतो घाइते भएको बर्दघाट सवडिभिजन वन कार्यालयका रेञ्जर जयप्रकाश यादवले जानकारी दिनुभयो । 

घाइतेमध्ये चिन्ताजनक अवस्थाकी ११ वर्षीया रीता विकलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा लगिएको छ भने अन्य तीन घाइतेको देवदह मेडिकल कलेजमा उपचार भइरहेको रेञ्जर यादवले बताउनुभयो । 

बँदेल आक्रमण गरेको थाहा पाएलगत्तै उक्त कार्यालयका दुई कर्मचारी र बासाबसही प्रहरी चौकीका प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो । 

व्याडमिन्टनको बन्द प्रशिक्षण 

दक्ष र राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले पश्चिम नवलपरासीमा व्याडमिन्टनको बन्द प्रशिक्षण शुरु भएको छ । नवलपरासीको जिल्ला व्याडमिन्टन सङ्घ र परासीको रामग्राम व्याडमिन्टन क्लबको संयुक्त आयोजनामा परासीस्थित व्याडमिन्टन कभर्ड हलमा प्रशिक्षण सञ्चालन गरिएको हो । 

स्वास्थ्य र मनोरञ्जनका लागि मात्रै नभई राष्ट्रियस्तरका अब्बल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको जिल्ला व्याडमिन्टन सङ्घका अध्यक्ष शङ्कर भण्डारीले जानकारी दिनुभयो । पश्चिम नवलपरासीका व्याडमिन्टन खेलाडीको सहभागिता रहेको सो प्रशिक्षणमा पूर्व राष्ट्रिय खेलाडी धर्मराज श्रेष्ठले प्रशिक्षण दिनुभएको छ । प्रशिक्षण १५ दिनसम्म सञ्चालन हुनेछ । प्रशिक्षक नहुँदा परासीका व्याडमिन्टन खेलाडीले आफैँ नियमति अभ्यास गर्दै आएका थिए खेलाडीले आफ्नै खर्चमा प्रशिक्षण सञ्चालन गरेको रामग्राम व्याडमिन्टन क्लबका अध्यक्ष मेघराज गौतमले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!