बाजुरा गाउँपालिकामा अस्थायी नून डिपो सञ्चालन

Posted on: 18 Jan, 2019

माघ ४, बाजुरा |  जिल्लाको गौमूल गाउँपालिकामा अनुदानको अस्थायी नून डिपो सञ्चालनमा आएको छ । 

“नून लिन एक दिनको पैदल हिँडेर सदरमुकाम मार्तडी जानुपथ्र्यो, रु एक सयको नूनका लागि रु दुई हजार बढी खर्च गर्नुपर्ने बाध्यता थियो, अब सजिलो भएको छ”, गौमूल–३ गर्जेकी बिसु बोहराले बताउनुभयो । सोही वडाकी पुनी धामीले भन्नुभयो,“साच्चै सिंहदरबारको अधिकार केही भए पनि गाउँमा आएको आभास भएको छ ।” 

जनतालाई केही सजिलोको लागि नून डिपोसँग समन्वय गरी गाउँपालिकामै डिपो सञ्चालन गरी वितरण गर्ने गरेको गौमूल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिनुभयो । अध्यक्ष रोकायाले भन्नुभयो, “हामीले नून डिपो त सञ्चालनमा ल्यायौँ, अब नेपाल खाद्य संस्थानको डिपो सञ्चालन गर्न पनि पहल भइरहेको छ ।” गौमूल अस्थायी नून डिपोबाट वार्षिक दुई सय क्वीन्टल नून बिक्री गर्ने गरेको नून डिपो बाजुराका प्रमुख नरबहादुर भाटले जानकारी दिनुभयो । 

प्रत्येक अस्थायी नून डिपोबाट एक हप्तासम्म मात्र नून बिक्री वितरण गर्ने गरेको प्रमुख भाटले बताउनुभयो । हालसम्म गौमूल गाउँपालिकामा एक हजार बढीलाई नून बिक्री वितरण भैसकेको छ । गाउँमै नून बिक्री वितरण भएपछि नून लिनेको घुइँचो लाग्ने गरेको छ । 

जनतालाई सहज सेवाका लागि गौमूल गाउँपालिकालगायत खप्तड छेडेदह गाउँपालिका र हिमाली गाउँपालिकाको धुलाचौरको जुण्डीमा पनि अस्थायी नून डिपोबाट भानु आयोडिन नून बिक्री वितरण गर्ने गरिएको बाजुरा डिपो प्रमुख भाटले बताउनुभयो । हाल बाजुराका सबै अस्थायी डिपो केन्द्रबाट भानु आयोडिन नून नौ रुपैयाँमा बिक्री भइरहेको छ । रासस |

यस बिषयमा तपाइको प्रतिक्रिया...!