तनहुँमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

Posted on: 19 Jan, 2019

माघ ५, दमौली | पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा शुक्रबार साँझ मोटरसाइकल र स्कुटर जुझ्दा मोटरसाइकल चालकको मृत्यु भएको अन्य दुई घाइते भएका छन् । 

सो दुर्घटनामा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–३ एक्लेफाँटका २३ वर्षीय निकेश गुरुङको उपचारका क्रममा मृत्यु भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकलमा सवार सोही ठाउँका २४ वर्षीय बुद्धिबहादुर गुरुङ र स्कुटर चालक आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटका २० वर्षीय नवीन थापा घाइते भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । 

मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग१५प २५६३ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ग१३प ४१६४ नंको स्कुटर जुझ्दा सो दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका निकेशको उपचारको क्रममा भरतपुर अस्पतालमा राति मृत्यु भएको हो । 

घाइतेद्वयको आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!