काभ्रेपलाञ्चोकमा खानेपानी जागरण अभियान

Posted on: 20 Jan, 2019

माघ ६,काभ्रेपलाञ्चोक | पाँचखाल नगरपालिकामा खानेपानी व्यवस्थापन गर्न स्थानीय युवाद्वारा जागरण अभियान थालिएको छ । 

पाँचखाल नपाको सबै वडामा खानेपानी पुर्याउने उद्देश्यले सञ्चालित सुनकोशी पाँचखाल वृहत् खानेपानी परियोजना सफल बनाउन स्थानीय युवाले जागरण अभियान थालेका हुन् । जागरण अभियानअन्तर्गत विभिन्न सङ्घसंस्था, विद्यालय तथा सरोकारवालाको सहभागितामा प्रत्येक वडामा परियोजनासम्बन्धी जानकारीमूलक ब्यानर र प्लेकार्डसहितको र्याली गर्दै आइएको छ । 

“वडाका कतिपय स्थानमा भेला गरेर तथा घरघरमा गएर खानेपानी जागरण अभियान गरिरहेका छौँ’ पाँचखाल नपा–४ तामाघाटका युवा कञ्चन अधिकारीले भन्नुभयो । उहाँका अनुसार परियोजनाका लागि उपभोक्ताले पनि रकम जम्मा गर्नुपर्ने भएकाले जानकारीका लागि पनि अभियान चलाइएको हो । 

परियोजना रु दुई अर्ब २१ करोडको लागतमा निर्माण सम्पन्न हुने बृहत् खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकार, एशियाली विकास बैंक (एडिबी) र उपभोक्ताको लागतमा परियोजना सम्पन्न गरिनेछ । 

परियोजनामा लाग्ने रु दुई अर्ब २१ करोडमध्ये पाँच प्रतिशत रकम उपभोक्ता समितिले ब्यहोर्नुपर्नेछ । यसमध्ये यहाँका छ हजार घरपरिवारले रु १८ हजारका दरले रकम परियोजनाको बैंक खातामा जम्मा गर्नुपर्नेछ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!