दाङमा दुई सय ३२ द्वारा नियमित एआरटी सेवा

Posted on: 20 Jan, 2019

माघ ६, लमही | दाङमा एचआइभी एड्स सङ्क्रमितलाई निःशुल्क औषधि तथा स्वास्थ्य परामर्श दिन एक वर्षअघि सञ्चालनमा आएको एआरटी सेवाबाट दुई सय ३२ जनाले सेवा लिइरहेका छन् । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीबाट १६० र राप्ती अञ्चल अस्पताल तुलसीपुरबाट ७२ जनाले नियमित सेवा लिइरहेका एआरटी सेवा प्रमुख लेकप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार दाङमा ४३७ जना एचआइभी÷एड्स सङ्क्रमित भेटिएका भए पनि अहिले सबैले एआरटी सेवा लिएका छैनन् । 

केहीको मृत्यु भएको, कोही अन्य बाहिरी जिल्लामा गएको तथा कोहीले परामर्श पनि लिन नमान्दा सबैले एआरटी सेवा लिन नसकेको उहाँको भनाइ छ । नियमित सेवा लिइरहेकाले समाजमा उदाहरणीय काम समेत गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त सेवा शुरु भएदेखि सकारात्मक प्रभाव परिरहेको छ, एचआइभी सङ्क्रमितलाई पनि माया, ममता दिन सकेमा उनीहरुले सामान्य मानिस सरह जीवनयापन गर्न सक्छन्, भन्ने चेतना पैदा भएको छ ।” 

सङ्क्रमतिलाई आवश्यकता अनुसार बोलाउने गरेको उहाँले बताउनुभयो । “हामीले एचआइभी सङ्क्रमितलाई आवश्यकता अनुसार बोलाउने गरेको छौं” शर्माले भन्नुभयो, “कहिल्यै एक दिनमा एकजना मात्रै बोलाउछौं, कहिल्यै एक दिनमा १० जना पनि बोलाउँछौं ।” 

असुरक्षित यौन सम्पर्क, सङ्क्रमित आमाबाट जन्मिएको बच्चा, सङ्क्रमितले प्रयोग गरेको सुई तथा सङ्क्रमित व्यक्तिको रगत अर्कोको व्यक्तिमा पर्न जानुलगायतका कारणले एचआइभी सङ्क्रमण हुन सक्ने भन्दै यसबाट स्वयं व्यक्ति नै सचेत हुनुपर्ने उहाँको भनाइ छ । उहाँले सङ्क्रमितलाई समाज, घरपरिवारले माया ममता प्रदान गर्नुपर्ने बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!