उदयपुरमा पशुबधशाला प्रयोगविहीन

Posted on: 21 Jan, 2019

माघ ७, गाईघाट | उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाट बजारमा निर्माण गरिएको पशुबधशाला नौ वर्षदेखि प्रयोगविहीन अवस्थामा छ । 

त्रियुगा नगरपालिकाले रु आठ लाखको लागतमा २०६६ सालमा निर्माण गरिएको चार कोठे सो पशुबधशाला केही महीनामै प्रयोगविहीन बनेको त्रियुगा नगरपालिका–१२ दुर्गाटोलका मोहनकुमार खड्का बताउनुहुन्छ । बजारमा मनपरी ढङ्गले पशुबध गर्न थालिएपछि सो पशुबधशाला निर्माण गरिएको हो । 

“बधशाला भवन जीर्ण बन्दै गएको छ,” स्थानीयवासी नरेन्द्र खड्काले भन्नुभयो । त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरी बधशाला नदी किनारमा निर्माण गरिएकाले मासु व्यापारी र उपभोक्ताले प्रयोग गर्न असहज मानेको बताउनुहुन्छ । “अब गाईघाट बरुवा क्षेत्रमा ठूलो पशुबधशाला निर्माण गर्ने योजना छ,” उहाँले भन्नुभयो । 

घरबास सञ्चालनमा समस्या 

आन्तरिक पर्यटन प्रवद्र्धन तथा विकासका लागि रौतामाई र उदयपुरगढी क्षेत्रमा स्थापना गरिएका घरबास (होमस्टे) ती क्षेत्रमा सडक तथा बिजुली नहुँदा सञ्चालनमा समस्या भएको छ । 

घरबास सञ्चालक केशरबहादुर रोका क्षेत्री भौतिक पूर्वाधार अभावका कारण घरबास बन्द हुने अवस्था पुगेको बताउनुहुन्छ । यस्तै रौतामाई गाउँपालिकाको रौता क्षेत्रमा पर्यटकलाई लक्ष्य गरी स्थापना गरिएका घरबास सडकको उचित व्यवस्थापन नहुँदा तथा बिजुली र खानेपानी अभावमा सञ्चालन हुन सकेको छैन । 

घरबास सञ्चालक जुद्धबहादुर मगरका अनुसार अहिले रौताक्षेत्रमा घरबासमा गरिएको लगानी खेर गएको छ । रौता गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्का भन्नुहुन्छ, “रौताक्षेत्रमा पर्यटन विकासका लागि बृहत् गुरुयोजनाका साथ अभियान थालिएको छ ।” रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!