कार्यालय रित्तै बनाएर कर्मचारी भ्रमणमा

Posted on: 21 Jan, 2019

माघ ७, कालिकोट । दैनिक कामकाज प्रभावित हुने गरी पलाँता गाउँपालिकाका सबै कर्मचारी भ्रमणमा गएका छन् । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा कर्मचारी समायोजन फर्म भर्न दुई साता अघि काठमाडौ गएपछि अन्य कर्मचारी भ्रमणमा गएका हुन् । 


गाउँपालिका अध्यक्ष गाउँपालिकामा हुँदा सबै कर्मचारी गाउँपालिकामै हुन्छन् तर अध्यक्ष पालिका बाहिर जाँदा सबै कर्मचारी बिभिन्न बाहानामा कार्यालय छोडेर भाग्छन् नाम नबताउने शर्तमा एक स्थानीय सेवाग्राहीले भने । कर्मचारी नभएपछि सेवाग्राही पनी आउन छाडेको कार्यालय कुर्न बसेका स्वाथ्य सहसंयोजक विनोदकुमार न्यौपानेले बताए । लेखापाल खिमलाल पुन विकास बजेटको ६० प्रतीशत बजेट खर्चगरी बिदामा घर गएका हुन् अन्य कर्मचारी को कसरी कहाँ गए थाहा  नभएको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले बताए ।

अन्य कर्मचारी नायव सुब्वा तथा सूचना अधिकारी राजबहादुर बम र प्राविधिक शाखा प्रमुख पदमबहादुर शाही बिदेश भ्रमणमा निस्केका छन् । ‘प्रमुख प्रशासकीय अधिकृत समायोजन फर्म भर्न जानुभएको हो तर उहाँ पनि बिदेशमा हुनुहुन्छ’ एक कर्मचारीले भने । पलाता गाउँपालिकाका एक मात्र सचिव बिष्णुकान्त प्याकुरेल माघि महोत्सवमा बर्दिया गएका छन् ।

लेखा सहायक र एक जना खरिदार पनि बिदामा नै छन् । सबै कर्मचारी १५ गतेसम्म आउने कार्यालयमा भिडियो हेर्दै दिन काट्दै गरेका न्यौपानेले बताए । बिदामा गएका कर्मचारीले बिदा स्वीकृत गराएका छैनन् । ‘पहिले गाविस सचिव र कार्यालय प्रमुख नबस्ने समस्या आउथ्यो, अहिले स्थानीय निकायमा नियमित कर्मचारी नबस्ने गरेको गुनासो आइरहेको छ’ नागरिक समाज कालिकोटका अगुवा कालीबहादुर मल्लले बताए । बर्षभरी कार्यालयमा कर्मचारी नबस्ने र असाढ मसान्तमा सबै बजेट सक्काउने परिपाटी अझै छुट्न सकेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!