बागलुङमा तामा र फलाम खानीको सम्भाव्यता अध्ययन शुरु

Posted on: 22 Jan, 2019

माघ ८, गलकोट | बागलुङ जिल्लाकोे एक नगरपालिकाले नगरभित्र रहेको विभिन्न खानी उत्खनन् गर्ने उद्देश्यले सम्भाव्यता अध्ययन शुरु गरेको छ । बागलुङ नगरपालिकाले पुराना फलाम तथा तामा खानीको सम्भाव्यता अध्ययनका लागि प्राविधिक टोली झिकाएर अध्ययन थालेको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । 

खानी तथा भूगर्व विभागबाट दुई प्राविधिक टोली ल्याएर रायडाँडा र तित्याङमा रहेका पुराना तामा तथा फलाम खानीको अध्ययन थालिएको हो । प्राविधिक टोलीले रायडाँडा र तित्याङका पाँच पुराना खानीको अध्ययन गरेको थियो । 

पाँचमध्ये चारबाट तामा र एकबाट फलाम निकाल्न सकिने प्राविधिक टोलीले बताएको छ । रायडाँडाको खानी गाउँ, खानी दुला, सरलेङ्मा तामाखानी रहेको र फालाम खानी गाउँमा फलाम खानीको सम्भावना रहेको वडा नं११ रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । 

त्यस्तै वडा नं ९ तित्याङको अडाँडामा तामा खानीको सम्भावना रहेको प्राविधिक टोलीले बताएको छ । तामा तथा फलाम खानीको सम्भाव्यता अध्ययनका लागि नगरपालिकाले रु १० लाख बजेटसमेत विनियोजन गरेको थियो । 

“हामी नगरलाई कसरी समृद्ध गराउने भन्ने सोचमा छौँ”, नगरप्रमुख पौडेलले भन्नुभयो । खानीबाट तामा र फलाम निकाल्न सकेमा वडाका साथै सम्पूर्ण नगर समृद्ध हुन सक्दछ । अहिले सम्भाव्यता अध्ययन गरेका खानीबाट करीब ५० वर्ष पहिला स्थानीय स्रोत तथा साधनबाट तामा र फलाम निकालिएको थियो । 

सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा आगामी दिनमा खानीसम्म जाने सडक तथा आवश्यक पूर्वाधार निर्माण गरेर तामा तथा फलाल उत्पादन गर्ने नगरले लक्ष्य लिएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!