तौल र गुणस्तरमा महोत्तरीका उपभोक्ता ठगिँदै

Posted on: 24 Jan, 2019

माघ १०, बर्दिवास  | बजारबाट खरिद गरेका वस्तुको तौलमा महोत्तरीका उपभोक्ता ठगिँदै गरेका छन् । 

जिल्लाका हाटबजारलगायत ग्रामीण बस्तीका पसलहरुमा व्यापारीले परम्परागत काठे तराजु र ढुङ्गे ढक नै तौलमा प्रयोग गर्ने क्रम नरोकिएपछि उपभोक्ता ठगिने गरेका हुन् । 

खासगरी साप्ताहिक हाट (साताका निश्चित दिन र ठाउँमा लाग्ने हाटबजार) मा काठे तराजु र ढुङ्गे ढकको प्रयोग बाक्लो छ । विशेषगरी दैनिक प्रयोजनका लागि किराना वस्तु र तरकारी किन्दा तौलमा ठगिने गरिएको उपभोक्ताको गुनासो छ । 

बजारबाट किनेर ल्याइएको चिनी, चामल, पिठोलगायतका दैनिक प्रयोजनका समान र तरकारी घरमा ल्याएर तौलदा सधैँ घट्ने गरेको भङ्गाहा नगरपालिका–४ का गृहिणी ऐसा खातुन बताउनुहुन्छ । साप्ताहिक हटियामा तरकारी बेच्न त ढुङ्गे ढक र परम्परागत तराजु नै वर्षौंदेखि प्रयोग हुँदै आएको खातुनको गुनासो छ । किनेर ल्याइएका खानेतेल, चामल, पिठो, मैदा र धुलो मसलासहितका खाद्यवस्तु त राम्रो भनेर ल्याइने गरिए पनि बेस्वादको हुने गरेको उपभोक्ता बताउँछन् । 

जिल्लाका सबैजसो साप्ताहिक हाट बजारमा परम्परागत काठे तराजु र ढुङ्गे ढक व्यापारीले प्रयोग गर्दा आफूहरु ठगिनु परेको आम उपभोक्ताको गुनासो छ । बजारक्षेत्र र गाउँनगर बस्तीका स्थायी पसलमा फलामको ढक प्रयोग गर्ने व्यापारी भेटिए पनि तिनले प्रयोग गर्ने ढक पनि अप्रमाणिक र कम तौलको हुने गरेको जिल्लाकै बर्दिवास नरपालिका–५ की गृहिणी सविना पौडेलले बताउनुभयो । यसरी परम्परागत तराजु र ढुङ्गे ढकको तौलले समान लिनुपर्दा एक किलोग्राममा २०० ग्रामसम्म कम हुने गरेको उपभोक्ताले बताएका छन् ।

बजार र पसलमा नापतौल र वस्तुको गुणस्तर अनुगमन गर्ने खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जलेश्वर, स्थानीय प्रशासन, जिल्लाका उद्योग वाणिज्य सङ्घ र स्थानीय तहले यसप्रति चासो नदेखाएकाले उपभोक्ता ठगिने क्रम नरोकिएको सामाजिक, राजनीतिक कार्यकर्ताको गुनासो छ । प्रचलित कानूनी व्यवस्थाअनुसार अनुगमन गर्ने अधिकार र दायित्व पाएका अधिकारी, सङ्घ, संस्था र निकायको उदाशीनताले बजारमा बेथिति बढेको नेपाली काङ्ग्रेस बर्दिवास नगर समितिका सचिब युवराज पोखरेल बताउनुहुन्छ । 

यता बर्दिवास उद्योग वाणिज्य सङ्घले जिल्ला प्रशासन कार्यालय र खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जलेश्वरसँग समन्वय गरेर प्रमाणिक ढक, तराजु लिन व्यापारीलाई आग्रह गरे पनि अपेक्षित सङ्ख्यामा सम्पर्कमा नआएको जनाएको छ । प्रामाणिक ढक, तराजु किन्न आग्रह गर्दा पनि सम्बन्धित व्यापारीले ध्यान नदिएकाले अब स्थानीय प्रशासनको समन्वयमा बजार अनुगमन गरि कारवाही बढाइने सङ्घका महासचिव भवनाथ खतिवडाको भनाइ छ । 

खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जलेश्वरका प्रमुख नवीनकुमार देउजा बजार, हाट र स्थायी पसलमा विभिन्न निकायको समन्वयमा वस्तुको गुणस्तर र नापतौलको अवस्थाबारे अनुगमन गरिँदै आइएको बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!