जुम्लामा हिउँमा कठ्याङ्ग्र्रिएर एकको मृत्यु

Posted on: 24 Jan, 2019

माघ १०, जुम्ला | सिँजा गाउँपालिका–६ जोडुका २७ वर्षीय शिवचन्द्र बुढाको हिउँमा कठ्याङ्ग्रिएर मुत्यु भएको छ भने उहाँका दाजु बाँचे बुढाको अचेत अवस्थामा उद्धार गरिएको छ । 

डाँफे लेकको बाटो हिँड्दै गरेका दाजुभाइ हिमपातका कारण चिसोले कठ्याङ्ग्रिएर अचेत अवस्थामा पुगेपछि भाइ शिवचन्द्रको बाटोमै मृत्यु भएको थियो । मङ्गलबार साँझ बेपत्ता दाजुको उद्धार गरिए पनि मृतक भाइको लास बुधबार मध्याह्न १२ बजे मात्रै भेटिएको थियो । 

स्थानीयवासी नरबहादुर बुढाका अनुसार दुवै दाजुभाइ जुम्लाको पातारासी गाउँपालिकाको पट्माराबाट राडिपाखी खरीद गरेर डाँफे लेक हुँदै सिञ्जाको जोडु गाउँतर्फ जाँदै थिए । घर जान बाटो लागेका उनीहरु नाकुल्ली भन्ने स्थानमा चलेको तीव्र हुरीबतास र हिमपातका कारण चिसोले कठ्याङ्ग्र्रिएर अचेत अवस्थामा पुगेका हुन् । लास भेटिएको स्थानमा करीब दुई फिट बढी हिउँ परेकाले शव घर लैजान अप्ठ्यारो भएको भन्दै घटनास्थलमा नै मृतकको दाहसंस्कार गरिएको आफन्तले बताएका छन् । 

प्रहरी निरीक्षक प्रकाश केसीले घटना वास्तविक भए पनि प्रहरीलाई समयमै जानकारी नहुनु र घटनास्थलमा नै मृतकको दाहसंस्कार गरिनाका कारणबारे अनुसन्धान भइरहेको बताउनुभयो । भारी हिमपातसँगै चिसोले जुम्लाको जनजीवन कष्टकर बनेको छ । हिँउले स्थानीयवासीलाई ठूलो कामका लागि गाउँबाहिर जान मुस्किल परेको छ । 

चिसोले बालबालिका, वृद्धवृद्धा तथा गर्भवती महिला बढी प्रभावित भएका छन् भने बिरामीको सङ्ख्या पनि बढ्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!