हिउँमा कठ्याङ्ग्रिएर भाईको मृत्यु, दाइको अचेत अवस्थामा उद्धार

Posted on: 24 Jan, 2019

नन्दराम जैसी । माघ १०, जुम्ला । सिँजा गाउँपालिका –६ जोडुका २७ वर्षिय शिवचन्द्र बुढाको हिउँमा कठ्याङ्ग्रिएर मुत्यु भएको छ । भने हिउँमा कठ्याङ्ग्रिएर अचेत अवस्थामा रहेका उनका दाजु बाँचे बुढाको उद्धार गरीएको छ । मंगलबार बिहानबाट जुम्लामा परीरहेको भारी हिमपातका कारण लेकको बाटो हिड्दै गरेका दाजुभाई चिसोले कठ्याङ्ग्रिएर अचेत अवस्थामा पुगेपछि भाईको बाटोमै मृत्यु भएको हो । मंगलबार साँझ बेपत्ता दाजुको उद्धार गरिएपनि मृतक भाईको भने बुधवार मध्यान्ह १२ बजे मात्रै लास भेटिएको थियो ।

स्थानिय नरबहादुर बुढाका अनुसार दुबै दाजुभाई जुम्लाको पातारासी गाँउपालिकाको पट्माराबाट राडिपाखी खरीद गरेर डाँफे लेकहुँदै सिंजाको जोडु गाउँतर्फ जाँदै थिए । घरजान बाटो लागेका उनिहरु नाकुल्ली भन्ने स्थानमा चलेको तिब्र हुरीबतास र हिमपातका कारण चिसोले कठ्याङ्ग्रिएर अचेत अवस्थामा पुगेका हुन् । लास भेटिएको स्थानमा करीव २ फिट बढि हिउँ परेकोले शव घर लैजान अप्ठ्यारो भएको भन्दै घटना स्थलमै मृतकको दाहसँस्कार गरिएको आफन्तले बताएका छन् ।

यता जिल्ला प्रहरी कार्यालयले घटना बास्तिविक भएपनि प्रहरीलाई समयमै जानकारी नहुनु र घटना स्थलमै मृतकको दाहसँस्कार गरीनुको कारण बारे अनुसन्धान भइरहेको जानकारी दिएको छ । भारी हिमपातसँगै चिसोले जुम्लाको जनजिबन कष्टकर बनेको छ । हिँउले स्थानियबासीलाई ठुलो कामका लागि गाँउ बाहिर जान मुस्किल परेको छ । चिसोले बालबालिका, बृद्धबृद्धा तथा गर्भवति महिलाहरु बढि प्रभावित भएका छन् । भने बिरामीको संख्या पनि बढ्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!