टीकापुरमा बन्द भएको २१ वर्षसम्म पनि विमानस्थल सञ्चालनमा आएन

Posted on: 25 Jan, 2019

दुर्गा देवकोटा | माघ ११, लम्की | बन्द भएको २१ वर्षसम्म पनि टीकापुर विमानस्थल सञ्चालनमा आउन सकेको छैन । सशस्त्र द्वन्द्वका कारण विसं २०५४ देखि उडान बन्द भएको उक्त विमानस्थल सञ्चालनका लागि स्थानीयवासीले प्रयास गरे पनि सरोकारवाला निकायको बेवास्थाका कारण सञ्चालनमा आउन नसकेको हो । 

उक्त विमानस्थल पुनः सञ्चालनका लागि स्थानीयवासीले विगत सात वर्षदेखि विभिन्न राजनीतिक दलका शीर्षनेतासँग आग्रह गर्नाका साथै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन् । 

विसं २०४२ देखि सञ्चालन हुँदै आएको उक्त विमानस्थल सशस्त्र द्वन्द्वका कारण २०५४ सालदेखि बन्द भएको थियो । लामो समयसम्म विमानस्थल सञ्चालनमा नआएपछि २०६१ सालमा चार सय घरधरी मुक्त कमैयाले त्यहाँ अतिक्रमण गरे । 

वर्षौदेखि बन्द रहेको विमानस्थल सञ्चालनका लागि स्थानीयवासीले पहल गरेकाले नगर विकास टीकापुर समितिले विमानस्थलमा बसेका मुक्तकमैयालाई अन्यत्र स्थानमा स्थानान्तरण गर्ने सहमतिमा विसं २०६९ मा ती मुक्तकमैयाले विमानस्थलको जग्गा छोडेका थिए । सरकारले बन्द रहेका २२ वटा विमानस्थल सञ्चालनमा ल्याउने जनाएकाले टीकापुरमा पनि सो विमानस्थल सञ्चालनका लागि स्थानीय बासिन्दाले सञ्चालन समिति गठन गरेर पहल शुरु गरेको पनि सात वर्ष बितिसक्यो । 

स्थानीयवासीको पहलमा अतिक्रमित जग्गा खाली गरेर विमानस्थल सञ्चालनका लागि तारबार र रनवे बनाउने कार्यसमेत गरियो । करीब रु दुई करोडको लागतमा विमानस्थल सञ्चालनका लागि तारबारसहित ६०० मिटरमा रोडा बिच्याएर धावन मार्गसमेत निमार्ण गरिएको छ । 

उक्त विमानस्थल अध्ययन, निमार्ण तथा सञ्चालन समितिका संयोजक टीकाराम जोशीले स्थानीय सञ्चालन समितिले आफ्नै पहलमा टीकापुरमा विमान सेवा सञ्चालनका लागि २०७१सालमा ‘टेस्ट फ्लाइट’लाई सम्म पारिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘तारा एयरको ट्वीनअटर विमानबाट ‘टेस्ट फ्लाइट’ तयार भएपछि टीकापुर विमानस्थल पुनःनिर्माण तथा सञ्चालन समितिले यति एयरलाइन्ससित टीकापुरबाट १६ सिट टिकट बेच्ने सम्झौता गरी साताको एक दिन उडान भर्ने सम्झौता पनि गरिएको थियो तर जहाज आएन ।’’ जोशीले बताउनुभयोे ‘‘ विमानस्थल सञ्चालनका लागि टीकापुरमा विभिन्न पक्षबाट सहयोग भयो । यहाँ आउने मन्त्री तथा शीर्ष नेतालाई ज्ञापनपत्र, मागपत्रदेखि लिएर ध्यानाकर्षणसम्मको काम अहिलेसम्म पनि जारी छ । हामी अहिले पनि प्रयासरत छौं ।’’ 

सञ्चालन समिति सदस्य मातृका तिमिल्सिेनाले भन्नुभयो, ‘‘बन्द अवस्थामा गौचरणमा परिणत भएको विमानस्थल सञ्चालनार्थ टीकापुरमा नागरिकस्तरबाट टीकापुर विमानस्थल अध्ययन निमार्ण तथा सञ्चालन समिति गठन भएकै कारण आज विमानस्थलको जग्गा सुरक्षित छ । सरकारले चाहेमा उडान शुरु गर्न गाहे पनि छैन ।’’ 

विमानस्थल पुनःनिर्माण गर्नका लागि टीकापुर नगरपालिका बोर्डको निर्णयका आधारमा मालपोत कार्यालयले २०७० सालमा चार महीना घरजग्गा खरीद बिक्रीमा एक प्रतिशत अतिरिक्त कर लगाउँदा रु ३५ लाख सङ्कलन भएको थियो तर विमानस्थल सञ्चालनमा नआउँदा सो रकम अझै सञ्चालन समितिको खातामा थन्किएको छ । 

संयोजक जोशीले विमानस्थल कालोपत्रेका लागि २०७३ मा सर्भेक्षण भएर रू २१ करोडको बराबरको लागत अनुमान गरे पनि काम हुन नसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हरेक नेताले आश्वासन मात्रै दिए, निर्देशन दिएर काम कसैले गरेनन् । फेरि तीन महीनाअघि सर्भेक्षण भएको छ । रू ३१ करोडको लागत अनुमान गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलाई बुझाएका छौँं । 

“उहाँले आवश्यक बजेट उपलब्ध गराउने आश्वासन दिनुभएको छ । काम हुन्छ होला ।’’जोशीले भन्नुभयो, ‘‘मन्त्रीले टीकापुरबाट सुदूर र मध्यपश्चिममा हवाईसेवा सञ्चालन गरिने बताउनुभएको छ । कालोपत्रे भएमा टीकापुरबाट ४० देखि ४२ सिटसम्मको जहाज उडाउन सकिने भएकाले कालोपत्रेका लागि पहल जारी छ ।’’ 

टीकापुर विमानस्थल निमार्ण तथा सञ्चालनका लागि हरेकवर्ष यस क्षेत्रका जनप्रतिनिधि सहितको टोली राजधानी काठमाडाँैमा गइरहेका छन्। ‘‘गतवर्ष पनि एक टोलीले प्रधानमन्त्रीको कार्यालय, शहरी विकास मन्त्रालय, पर्यटन मन्त्रालय, योजना आयोगमा विमानस्थल निमार्णका लागि पहल गर्न आग्रह गरेको थियो ।’’ टीकापुर विकास मञ्चका अध्यक्ष नवराज रावलले भन्नुभयो । 

विमानस्थल सञ्चालन हुनुपर्ने स्थानीयवासीको माग जारी छ । सुदूरपश्चिम प्रदेशका सांसद डा रणबहादुर रावलले भन्नुभयो, ‘‘टीकापुरबाट विमानस्थल सञ्चालन हुने सम्भावना छ प्रदेश सरकारले पनि यो सम्भावनालाई प्राथमिकता दिन आवश्यक छ ।’’ 

टीकापुरका आसपासका यात्रुले हवाई यातायातका लागि एक सय किलोमिटर भन्दाबढी दूरीमा रहेको नेपालगञ्ज या धनगढी जानुपर्ने बाध्यता छ । 

बजार क्षेत्रतर्फ एक हजार २५० मिटर लम्वाइ रहेको विमानस्थलका लागि आवश्यक परे थप तीन सय मिटर जग्गा सहजरूपमा उपलब्ध गराउन सकिने भएकाले टीकापुर विमानस्थल उपयुक्त रहेको स्थानीयवासीको भनाइ छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!