कर्णाली प्रदेश कुष्ठरोग निराकरणतर्फ उन्मुख

Posted on: 25 Jan, 2019

माघ ११, सुर्खेत । कर्णाली प्रदेशमा विगत वर्षभन्दा कुष्ठरोगका विरामीहरुको संख्यामा कमी आएको छ ।  प्रदेशका १० जिल्ला तथ्याङ्कअनुसार कुष्ठरोगका नयाँ थपिने विरामीहरुको संख्यामा विस्तारै न्युनिकरणतर्फ उन्मुख भएको हो ।

गत आर्थिक वर्ष २०७४÷०७५ मा ११५ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । यो तथ्याङ्क आर्थिक वर्ष २०७२।०७३ को तुलनामा कम हो । २०७२।०७३ मा कर्णालीका नौं जिल्लामा नयाँ भेटिएका कुष्ठरोगीको संख्या ११९ जना थियो । तर चालु आर्थिक वर्षको हालसम्म ११५ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । कर्णालीका जुम्ला, हुम्ला र डोल्पामा कुष्ठरोगी विरामीको नै नभएको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशका कुष्ठरोग अधिकृत पदम केसीले जानकारी दिए । उनका अनुसार तीन जिल्लामा कुष्ठरोगीको संख्या पत्ता लागेको छैन् । ६६ औं कुष्ठरोग दिवसको पुुर्वसन्ध्यामा स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा केसीले तीन जिल्लामा कुष्ठरोगी फेला नपुर्नको कारण खोजी नगरेकाले भएको हुनसक्ने बताए । ‘हामीले त्यहाँ गएर खोजी गरेका छैनौं’ उनले भने, ‘खोजी गरे त्यहाँ पनि भेटिन सक्छन् ।’ सबैभन्दा बढी नयाँ कुष्ठरोगी सल्यानमा फेला परेका छन् । सल्यानमा गत आर्थिक वर्षमा ३२ जना कुष्ठरोगी फेला परेका छन् । त्यस्तै रुकुम पश्चिममा २१ जना फेला पर्दा जाजरकोटमा २४ र सुर्खेतमा २० जना नयाँ कुष्ठरोगी फेला परेका छन् । यस्तै, दैैलेखमा ७, कालिकोटमा १० र मुगुमा तीन जना फेला परेको केसीले जानकारी दिए । 

कुष्ठरोग अब सामान्य भइसकेको बताउँदै केसीले कुष्ठरोगबारे जनस्तरमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको जानकारी दिए । कर्णालीमा कुष्ठरोग निराकरण गर्न निर्देशनालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको केसीले जानकारी दिए । कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्यक्टेरियम लेप्रे नामक किटाणुबाट लाग्ने गर्दछ । कम सर्ने सरुवा रोगमा पर्ने कुष्ठरोगले छाला र नशामा असर गर्ने स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विनोद आचार्य बताउँछन् । उनका अनुसार कुष्ठरोगको लक्षण देखिएमा छालामा असर गर्दा रातो वा हल्का फुस्रो रंगको दाग देखिने, अनुहारमा छाला बाक्लो हुने, गिख्राहरु देखा पर्ने र स्नायुमा असर गर्दा हातखुट्टामा छुँदा थाहा नपाउने तथा मांशपेशीहरु कमजोर हुने गर्दछन् । ‘कुष्ठरोगलाई न्युनिकरण गर्न कुष्ठरोगका विरामीहरु खुल्नमा डराउनु हुँदैन्’ आचार्यले भने, ‘जनस्तरमा अझै पनि कुष्ठरोग लागेमा लुकाउने संस्कार कायम रहेकाले सचेतनामुलक अभियान पनि चलाउन आवश्यक छ ।’ कुष्ठरोग भएमा कम किटाणु भएकाले ६ महिना र बढी किटाणु भएकाले एक वर्षसम्म औषधी सेवन गरे निराकरण हुने आचार्यले उल्लेख गरे । नेपालमा हाल दश हजार जनामध्य एक जनालाई कुष्ठरोग संक्रमण भएको पाईएको निर्देशनलयले जनाएको छ । तर सरकारले सन् २०२० सम्म उक्त संख्यालाई शुन्यमा झार्ने लक्ष्य लिएको छ । यसैविच, स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले ६६ औं विश्व कुष्ठरोग दिवस ‘कुष्ठरोग कार्यक्रमको गन्तव्य, गलत धारणा र विभेदको अन्त्य’ भन्ने नाराका साथ भोली (आईतबार) मनाउन लागेको छ । दिवसमा सचेनामुलक कार्यक्रमहरु सञ्चालन गरिने निर्देशनालयले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!