पुनःनिर्माण प्राविधिक तह बनाउने तयारी, फर्जी भूकम्प पीडितलाई कारवाही हुने

Posted on: 25 Jan, 2019

माघ ११, धादिङ (रासस) | राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्थानीय तहमा पुनःनिर्माण प्राविधिक एकाइ बनाउने तयारीमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण रहेको बताउनुभएको छ । 

प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइले शुक्रबार धादिङबेसीमा आयोजना गरेको निजी आवास पुनःनिर्माण कार्यान्वयनमा देखिएका समस्या तथा चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

स्थानीय तहको सरकारसँग मिलेर भूकम्प पीडितको नाममा दोहोरो सुविधा लिने र फर्जी विवरण दिएर सुविधा लिनेको पहिचान गर्ने र फर्जी भएका सबैलाई कारवाही गर्ने उहाँले बताउनुभयो । पुनःनिर्माण प्राधिकरण तथा कुनै पनि सरकारी निकायसँग एकीकृत सूचना प्रणाली नभएका कारण नक्कली पीडितको पहिचानमा ढिलाइ भइरहेकोले स्थानीय तहलाई त्यस्ता व्यक्तिको विवरण पठाई दिन आग्रह गरिएको र सार्वजनिक सूचना पनि प्रकाशित गएिको ज्ञवालीको भनाइ थियो । 

सो अवसरमा जिल्लाका १३ वटा स्थानीय तहमा कार्यरत प्राधिकरणका इञ्जिनीयरको सहभागिता थियो । भौगोलिक विकटता, सूचना प्रविधिको पहुँचमा कमी जस्ता कारणले समयमै प्रतिवेदन तथा फोटो पठाउन नसकिएको इञ्जिनीयरको गुनासो थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!