महायज्ञमा सांसददेखि केन्द्रीय नेताको सहयोग

Posted on: 27 Jan, 2019

माघ १३, लमही (रासस) | तुलसीपुरको महायज्ञमा सांसददेखि केन्द्रीय नेताहरुले सहयोग गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–८ मा शनिबार सम्पन्न महोत्सवमा केही दिनअघि मात्रै नेपाली काङ्ग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य दीपक गिरी, प्रदेशसभा सदस्य उत्तरकुमार वली, प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले सहयोग गर्नुभएको थियो । 

महायज्ञमा प्रतिनिधिसभा सदस्य केसीले रु एकलाख १० हजार ४०० महायज्ञलाई दान गर्नुभएको हो । “चुनावको समयमा मैले आफ्नो पारिश्रमिक नलिने प्रतिबद्धता जनाएको थिए” उहाँले भन्नुभयो, “सोहीअनुसार आफ्नो पारिश्रमिकबापतको रकम विद्यालयलाई सहयोग गरे ।” 

उहाँले आफ्नो दुई महीनाको तलब बराबरको रकम विद्यालयलाई सहयोग गरेको बताउनुभयो । साथै उहाँले तुलसीपुर १५ को शहीद पार्क निर्माणका लागि तीन महीनाको तलब भत्ता सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

सुविधासम्पन्न स्मार्ट विद्यालय निर्माण तथा प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजना गरिएको सो महायज्ञमा काङ्ग्रेसका प्रवक्ता शर्माले रु ५१ हजार, केन्द्रीय सदस्य गिरीले रु ५१ हजार र प्रदेशसभा सदस्यले रु ५५ हजार ५५५ सहयोग गर्नुभएको थियो । 

त्यस्तै शनिबार सबैभन्दा बढी तुलसीपुर उपमहानगरका नगर प्रमुख घनश्याम पाण्डेले रु एक लाख १५ हजार सहयोग गर्नुभएको छ । प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले रु ५१ हजार सहयोग गर्नुभएको छ । महायज्ञ शनिबार सम्पन्न भएको छ । शनिबारसम्म महोत्सवबाट करीब रु ४३ लाख ५४ हजार ८२४ सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक हिरालाल न्यौपानेले बताउनुभयो । प्राविधिक शिक्षा सञ्चालनका लागि माघ ५ गतेबाट शैक्षिक महोत्सवसमेत सञ्चालन भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!