सिरहामा दुर्घटना न्युनिकरण गर्न ट्रयाक्टरको ट्रलीमा स्टिकर

Posted on: 27 Jan, 2019

राम नारायण पंडित | माघ १३, सिरहा । बढ्दै गएको सडक दुर्घटनालाई न्युनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय  सिरहाले अभियान संचालन गरेको हो । दुर्घटना न्युनिकरण गर्न ट्रयाक्टरको ट्रली पछाडी रिफ्लेटिङ स्टिकर टाँस्ने अभियान आजदेखि सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख प्रहरी निरिक्षक मिलन बस्नेतले बताए । 


ट्रयाक्टरको पछाडी बती नहुँदा खास गरी रातीको समयमा दुर्घटना हुने सम्भावना बढी रहेकाले ट्रलीको पछाडी टल्किने खालको रिफ्लेटिङ स्टिकर टाँस्ने अभियान सुरु गरिएको उनले बताए । स्टिकर टाँस्ने अभियान संचालनका लागि मातहतका युनिटमा सर्कुलर गरिएको प्रमुख बस्नेतले बताए । पुर्बपश्चिम लोकमार्गको साथै ग्रामिण क्षेत्रमा रहेका ट्रयाक्टरहरुमा स्टिकर टाँस्ने काम भईरहेको उनले दाबी गरे । 


अभियानले सबारी दुर्घटनामा कमी आउने प्रमुख बस्नेतले विश्वास ब्यक्त गरेका छन् । मौसममा आएको परिबर्तनसंगै विहान–बेलुका कुहिरो लाग्ने गरेकाले चालकहरुलाई सजग भएर सबारी चलाउन उनले आग्रह पनि गरेका छन् ।

हाईस र ट्रिपरको गति नियन्त्रण 

तिव्र गतिका कारण भईरहेको दुर्घटना कम गर्न हाईस र ट्रिपरको गति नियन्त्रण गर्ने तयारी भईरहेको प्रमुख बस्नेतको भनाई रहेको छ । खास गरी हाईस र ट्रिपर चालकले तिब्र गतिमा लेन मिचेर सबारी चलाउँदा दुर्घटनाको जोखिम बढेको अबस्थालाई मध्य नजर गर्दै यसलाई नियन्त्रण गर्ने गृहकार्य भईरहेको समेत उनले दाबी गरे । छिट्टै पुगिने प्रतिस्पर्धाले सबारी चालकहरुले नियमको पालना नगरी ओभरटेक गरेर सबारी चलाउँदा दुर्घटनाको सम्भावना बढी रहेकाले यसलाई न्युनिकरण गर्न कदम अगाडी बढाईएको प्रमुख बस्नेतले बताए । 

चेकजाँचमा कडाई

सवारी साधन दुर्घटना भएर मानिसको ज्यान जाने क्रम बढेपछि ट्राफिक प्रहरीले सबारीसाधन चेकजाँचमा कडाई गरेका छन् ।  दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको लापर्वाही, मादक पदार्थ सेवन गरी सबारी साधन चलाउने, अत्याधिक यात्रु बोक्ने जस्ता कार्य घटाउन सक्रियता बढाएको उनले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले मातहतका युनिटहरुमा सर्कुलर जारी गर्दै सवारी साधनको चेकजाँचमा कडाई गरेका छन् । खासगरी पुर्बपश्चिम लोकमार्गमा लामो तथा छोटो दुरीका सवारी साधन गुड्ने र दुर्घटना हुने क्रम पनि बढेकाले चेकजाँचमा कडाई गरिएको प्रमख बस्नेतले स्पष्ट गरे । नियम विपरीत सवारी साधन चलाएको पाइएपछि ऐन अनुसार कार्वाही गरिरहेको उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!