जङ्गली हात्तीद्वारा घरमा तोडफोड, तीन दर्जन घरमा क्षति

Posted on: 28 Jan, 2019

माघ १४, राजविराज | कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीको समूहले सप्तरीको उत्तरी क्षेत्रमा गएराति तीन दर्जन बढी घरमा तोडफोड गरेर क्षति पुर्याइएको छ । 

जिल्लाको अग्निसाइर कृष्णासवर र रुपनी गाउँपालिकामा जङ्गली हात्तीले तीन दर्जन घरमा क्षति गरेको स्थानीय वृजमान तामाङले जानकारी दिनुभयो । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहले रुपनी गाउँपालिका–६ का वीरबहादुर तामाङको घर भत्काउँदा रु ५० हजार मूल्य बराबरको क्षति भएको छ । 

हात्तीले तामाङको घरमा रहेको अन्नपात, फर्निचर र घर पूर्णरूपले क्षति पुर्याइएको छ भने गणेशबहादुर मगर, रत्नमाया राई, हरिलाल चौधरी लगायतका दर्जनौँ व्यक्तिको घरमा तोडफोडसमेत गरेको स्थानीयवासीले बताएका छन् । 

छ वटाको समूहमा आएका जङ्ली हात्तीले अग्निसाइर कृष्णा सवरन गाउँपालिका–२ का बलबहादुर राईको एउटा घर पूर्णरुपमा क्षति गरेको तमाङले बताउनुभयो । 

राईको घर भत्काएर चामल, कोदो, मकै र घरभित्र रहेको भाँडाकुडासहितको सामान नष्ट गर्दा करीब रु एक लाख बराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो । 

जङ्ली हात्तीको समूहले एक हप्ताभित्रमा २८ वटा घरमा क्षति गर्नुको साथै किसानले लगाएको लाखौँ मूल्यका गहुँबालीसमेत नष्ट गरेको गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!