‘समृद्ध कर्णाली र आत्मनिर्भर कर्णालीवासी बनाऔँ’

Posted on: 28 Jan, 2019

माघ १४, सुर्खेत (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्माले समृद्ध कर्णाली र आत्मनिर्भर कर्णालीवासी बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । 

कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा यहाँ आयोजित ‘प्रदेश समन्वय परिषद्को पहिलो बैठक’को छलफल कार्यक्रममा बोल्दै उहाँले आफ्नो प्रदेश आफैँले बनाउनुपर्ने बताउनुभयो । “उतिबेलाको आत्मनिर्भर कर्णाली खस राज्य अहिले आएर परनिर्भर बन्दै गएको छ,” उहाँले भन्नुभयो, “कर्णालीका नाममा दान लिएर खर्च गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले बिस्तारै श्रम र उत्पादनबाट यहाँका नागरिकलाई विमुख बनाए ।” 

कर्णलीको अभाव, समस्या र आवश्यकतामा सबै ऐक्यबद्ध भएर लाग्नुको विकल्प नरहेको भन्दै उहाँले जगदुल्ला, वेतन, फुकोट, नलगाड हाइड्रोपावर निर्माणमा जोड दिइने बताउनुभयोे । कर्णालीका गाउँ तथा दलित समुदायलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्नुपर्ने धारणासमेत उहाँले राख्नुभएको थियो । 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै पूर्वाधारको नक्साङ्कन गरेर प्रदेशको विकास खाका कोर्ने बताउनुभयो । स्थानीय, प्रदेश र सङ्घीय सरकारले कुन स्तरका योजना कसले बनाउने भन्ने कुराको निक्र्यौल हुनुपर्ने उहाँको भनाइ थियो । बैठकको पहिलो दिनमा प्रदेशसभा सदस्य तथा नेकपा कर्णाली प्रदेशका सहइञ्चार्ज यामलाल कँडेल, प्रदेशसभा सदस्य यज्ञ बिसी लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!