बेरोजगार युवालाई रोजगारी

Posted on: 31 Jan, 2019

माघ १७, बडीमालिका | बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकाले १४० युवालाई रोजगार दिएको छ । बेरोजगारी समस्या समाधान गर्न सहयोग पु¥याउने उद्देश्यले सो कार्य गरिएको गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले बताउनुभयो । 

गत पुस ७ गतेको गाउँ कार्यपालिकाको बैठकले आवश्यक कार्यविधि बनाई हिजोदेखि १०० युवालाई रोजगारी दिने काम भइरहेको अध्यक्ष शाहीले बताउनुभयो । प्रत्येक वडाका २८ का दरले बेरोजगार युवालाई गाउँपालिकाभित्रका सडक, बाटोघाटो मर्मत, सिँचाइ नहरजस्ता विकासे काममा लगाउन थालिएको छ । 

बुधबारदेखि शुरु गरिएको स्वरोजगार कार्यक्रममार्फत अध्यक्ष शाहीले छापुको सडक खोलीकुनादेखि शिलान्यास गर्दै बेरोजगार युवालाई काममा लगाएको छ । देशकै पहिलो गरीब गाउँपालिकाका रुपमा परिचित उक्त गाउँपालिकामा स्वरोजगारको अवसर सिर्जना गरी गरीबी न्यूनीकरण गर्न यो कार्यक्रम अघि सारेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुमेर शाहीले जानकारी दिनुभयो । 

विगतमा बेरोजगारी समस्याले यहाँका कतिपय युवा हिउँद लाग्ने बित्तिकै भारतलगायका देशमा काम गर्न जाने गरेका थिए । युवालाई अभिमुखीकरण गरेर हिजोदेखि काममा लगाइएको हो । श्रमको सम्मान गाउँपालिकाको अभियान भन्ने नाराका साथ युवा रोजगार कार्यक्रमका विषयमा स्वरोजगार दलमा छनोट भएका युवालाई रोजगार के हो ? त्यसको कामको प्रकृति, लक्ष्य उद्देश्य, बीमा नीति र दिगो विकासका सम्वन्धमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!