महिनावारीका कुरा गर्न नलजाउन नगरप्रमुख भुसषालको आग्रह

Posted on: 01 Feb, 2019

लक्ष्मी अर्याल | माघ १८, गुल्मी | विद्यालयका छात्राहरुलाई लक्षित गरी रेसुंगा नगरपालिकाले नगरभित्रका १० वटा विद्यालयमा सुरक्षित महिनावारी कार्यक्रम गर्यो । विगत ६ वर्षदेखी गुल्मी जिल्लाका धेरै विद्यालयमा सुरक्षित महिनावारी कार्यक्रम अभियानकै रुपमा अगाडी बढेको छ । अभियान सञ्चालनले विद्यालयमा छात्राहरुको उपस्थिती दर बढ्नुका साथै विद्यालयबाटै स्यानेटरी प्याडको समेत व्यवस्था गरिएको छ ।

रेसुंगा नगरपालिकाले पनि छात्राहरुका लागि महिनावारी भएको समयमा कुनै समस्या नहोस् र विद्यालयमा ढुक्कसंग बसेर पढ्न सकुन् भन्ने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाकी उपप्रमुख सिता भण्डारीले जानकारी दिनुभयो । भण्डारीले महिनावारी महिलाका लागि नियमित र मासिक चक्र भएकाले यसलाई समस्याको रुपमा नलिई खुसीका साथ व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । सुरक्षित महिनावारी विद्यालयस्तरीय कार्यक्रममा भण्डारीले छात्राहरुलाई विद्यालयमा आउन र समस्या भए विद्यालय प्रशासनमा जानकारी गराउन आग्रह गर्नुभयो । कार्यक्रम अन्र्तगत विद्यालयमा स्यानेटरी प्याड समेत नगरपालिकाले उपलब्ध गराएको छ ।

रेसुंगा नगरपालिका –४ अर्खलेस्थित बुद्ध मावीमा पुगेर रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसाालले छात्रालाई महिनावारीका कुरा गर्न नलजाउनुपर्ने बताउनुभयो । महिनावारी महिलाका लागि प्राकृतिक र निश्चित प्रक्रिया भएको बताउँदै उहाँले यस्तो विषयमा ढुक्क भएर कुरा राख्न आग्रह गर्नुभयो । भुसाालले महिनावारी सवै महिलालाई हुने भन्दै सुरक्षित बनाई व्यवस्थापन र सरसफाईमा ख्याल गरे रोग नलाग्ने समेत बताउनुभयो । 

उहाँले विद्यालयमा छात्राहरुका लागि स्यानेटरी प्याड र प्रयोग गरेका प्याड डिस्पोज गर्न इन्सिनेटरको व्यवस्था भएकाले अबका दिनमा छात्राहरु विद्यालयमा नियमित उपस्थित हुनेमा विश्वास रहेको समेत बताउनुभयो । कार्यक्रम नगरका सिमिचौर,दुविचौर,पराल्मी र अर्खलेका मावी र निमावीमा सञ्चालन गरिएको हो । शिक्षा शाखाबाट सञ्चालित सुरक्षित महिनावारी कार्यक्रममा सुरक्षित महिनावारी अभियन्ता एंव पत्रकार गंगा खड्काले छात्राहरुलाई प्रशिक्षण दिनुभएको हो । प्रशिक्षणका क्रममा खड्कासंग छात्राहरुले खुलेरै महिनावारी स्वास्थ्य समस्याका बारेमा जिज्ञासा राखेका थिए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!