वीरेन्द्रनगरमा शहिद स्मारक बन्छ: मुख्यमन्त्री शाही

Posted on: 05 Feb, 2019

माघ २२ सुर्खेत । प्रदेश प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरुको स्मृतिमा प्रदेश राजधानी सुर्खेतको मुख्य चोकमा सहिद स्मारक निर्माण गर्ने कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । सहिदहरुको वलीदानीबाटै कर्णाली प्रदेश प्राप्त भएकाले सहिदहरुको सम्मान गर्नु सरकारको दायित्व भएको पनि बताएका हुन् ।


मुख्यमन्त्री कार्यालयमा प्रदेश प्राप्तिका लागि भएको आन्दोलनमा भएका घाईते अपाँङ्गहरुको मागपत्र समेत मुख्यमन्त्री शाहीलाई बुझाइएको छ । घाईते तथा अपाङ्गहरुको लागि पनि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता शाहीले जनाएका छन् । ‘यो प्रदेश प्राप्तीको मुख्य देन सहिद र तपाई घाईते योद्धाहरुको हो’ मुख्यमन्त्री शाहीले भने, ‘तपाईहरुका माग जायज छन, सरकार माग संवोधका लागि गंभिर छ ।’ ०७२ साउन २५ गतेदेखी सुर्खेतमा भएको प्रदेश प्राप्तिको आन्दोलनमा घाईते भएका आफुहरुले अझै पनि उपचार तथा हवाई यातायातको खर्च नपाएको भन्दै घाईतेहरुले मुख्यमन्त्री समक्ष गुनासो गरेका थिए । उनीहरुले घाईते भईसकेपछि उपचारका लागि हवाईजवाज चार्टर समेत आफन्तहरुले गरेको र चार्टरको भाडा पनि अहिलेसम्म सरकारले भुक्तानी नगरेको भन्दै उक्त भाडा भुक्तानीको माग गरेका छन । घाईतेहरुले मुख्यमन्त्री शाहीसंग थप उपचारको व्यवस्था, आफु र परिवारको योग्यता वमोजिम जिविकोपार्जन तथा रोजगारी र छोराछोरीको निःशुल्क शिक्षाको समेत माग गरेका छन ।


प्रदेश संरचना निर्माणका क्रममा तत्कालीन सरकारले भेरी, कर्णाली र राप्तीका २ जिल्ला र सुदुरपश्चिमका सेती र महाकाली सहित एउटै प्रदेश निर्माण गर्ने निर्णय गरेको थियो । भेरी, कर्णाली र राप्तीका २ जिल्ला सहितको छुट्टै प्रदेशको माग गर्दै हरेक जिल्लामा आन्दोलन चर्किएको थियो । आन्दोलनका क्रममा सरकारले वल प्रयोग गर्दा सुर्खेतमा ४ जनाको ज्यान जानुको साथै धेरैको संख्यामा घाईते तथा अपाङ्ग हुनुपरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!