जाजरकोटको दुर्गम गाँउमा बिजुली बल्यो

Posted on: 07 Feb, 2019

माघ २४, जाजरकोट | बारेकोट गाउँपालिकाको दुर्गम गाउँमा छ वर्षपछि बिजुली बत्ती बलेको छ । बिजुली बलेपछि स्थानीय बासिन्दा निकै हर्षित भएका छन् । वर्षौंदेखि अन्धकारमा बस्दै आएका यहाँका स्थानीयवासी २४ घण्टा गाउँमा बिजुलीको सुविधा भएपछि दङ्ग परेका हुन् । 

गाउँपालिका–८ को सेपुखोलास्थित गाउँ नजिकैको सेपुखोलाबाट ३३ किलोवाट विद्युत् उत्पादन भएको छ । बिजुली बलेपछि सेपुखोला, गोलखारा, जुगेन, बन्डाला, रैनेपानी, छुतीपाल्ती, कोलयानी, डाँडागाउँलगायत क्षेत्रका ३३३ घरधुरी प्रत्यक्ष लाभान्वित भएको सेपुखोला लघु जलविद्युत् आयोजना निर्माण समितिका अध्यक्ष वेदराज सिंहले बताउनुभयो । 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्दको अनुदान, नगरपालिका तथा स्थानीयवासीको जनश्रमदान गरी कूल रु दुई करोड लागतमा विद्युत् आयोजना निर्माण भएको सिंहले बताउनुभयो । बिजुली बाल्न प्रतिघरपरिवारले एक महीना बढी श्रमदान गरेका थिए । 

गाउँमा बिजुली बत्ती बलेपछि वडापालिका, विद्यालय, प्रहरी चौकी, स्वास्थ्य चौकी, पशु उपशाखालगायत कार्यालयको कामकाजमा सहज भएको छ । 

बिजुली बलेपछि बालबालिकालाई पढ्न लेख्न प्रत्यक्ष फाइदा पुगेको छ भने बालबालिकामा पढ्ने बानीको विकास भएको विद्यार्थी मानकुमारी बुढाले बताउनुभयो । 

प्रसारण लाइनको सब स्टेशन बन्ने 

जाजरकोटको नलगाड नगरपालिका–७ दानी पिपलमा ४०० केभी प्रसारण लाइनको सवस्टेशन बन्ने भएको छ । उत्पादन कम्पनीका प्रमुख मोहन पन्त, ग्रिड उत्पादन कम्पनी प्रमुख नेत्र ज्ञवाली, नलगाड जलविद्युत् आयोजनाका कार्यकारी निर्देशक रामकाजी थापा, सांसद गणेशप्रसाद सिंह, जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल र नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावललगायतले स्थानीयसँग जग्गा अधिग्रहणका विषयमा छलफल गर्नुभएको छ । जाजरकोट, रुकुम र डोल्पा जिल्लामा बन्न लागेका विद्युत् आयोजनाको विद्युत् वितरण गर्नका लागि सवस्टेशन दानी पिपलमा निर्माण गर्न लागिएको नलगाड जलविद्युत् आयोजनाका इञ्जिनीयर पदम थापाले जानकारी दिनुभयो । 

रुकुमको उत्तरगङ्गा विद्युत् आयोजना, डोल्पाको दगदला, जाजरकोटको भेरी १, २, ३ र चिसापानी डाँडागाउँ विद्युत् आयोजना, ताँसुगाड आयोजना र नलगाड जलविद्युत् आयोजनाको विद्युत् वितरण गर्नका लागि दानी पिपलमा सवस्टेशन निर्माण गर्नका लागि स्थानीयसँग छलफल गरिएको हो । 

जमीन पक्का र सबैको बीचमा दानी पिपल भएकाले यहाँको १५० रोपनी जग्गा अधिग्रहण गर्न लागिएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!