विद्यार्थी बिरामी परेपछि विद्यालय नै बन्द

Posted on: 07 Feb, 2019

माघ २४, रोल्पा | रोल्पाको एक विद्यालयका विद्यार्थी लगातार बिरामी पर्न थालेपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ । 

सदरमुकाम लिवाङको पिताराज आधारभूत विद्यालयका विद्यार्थी विद्यालय समयमा काँप्ने, मुर्छा पर्ने, चिच्याउने तथा रुने, कराउने गर्न थालेपछि विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ । 

एक महीना अघिदेखि शुरु भएको यस्तो समस्या शुरुमा कक्षा ६ र ७ मा अध्ययनरत छात्रामा देखिएको बताइएको छ । दैनिक चार–पाँच जनामा यस्तो समस्या देखिएपछि जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका स्वास्थ्यकर्मीहरुबाट तनाव व्यवस्थापनसम्बन्धी कक्षा सञ्चालन गरिएको थियो । “उक्त कक्षा सञ्चालनपश्चात् पनि विद्यार्थीमा सो समस्या हल हुनुको साटो वृद्धि भई दैनिक १५–२० जना बिरामी पर्न थालेसँगै विद्यालय बन्द गर्न बाध्य भएका हौँ,” प्रधानाध्यापक लीला आचार्यले भन्नुभयो । 

बिरामीका अभिभावक तथा अन्य अभिभावकले समेत केही दिनका लागि विद्यालय बन्द गर्न आग्रह गरेकाले माघ २२ देखि २५ गतेसम्म विद्यालय बन्द गरिएको प्रधानाध्यपक आचार्यको भनाइ छ । “केही अभिभावकले धामी–झाँक्री कहाँ देखाउने भन्नुभएको छ भने केहीले स्वास्थ्य संस्थामा लैजाने भन्नुभएको छ”, आचार्यले भन्नुभयो । विद्यालय खुलेलगत्तै मनोसामाजिक विमर्शसम्बन्धी तालीम दिने सोच बनाएको प्रधानाध्यापक आचार्यले जानकारी दिनुभयो । 

“विद्यालय वा घरमा हुने तनावका कारण यस्तो समस्या देखिने गर्छ”, जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अहेब कुलबहादुर डाँगीले भन्नुभयो । तनाव व्यवस्थापनका जानकारसमेत रहेका डाँगीका अनुसार एक जनामा यस्तो समस्या देखिए त्यस्तो बिरामीलाई छुट्टै बसाल्ने व्यवस्था गरे अरूमा सर्दैन । “एक जनाको समस्या देखेपछि अरू पनि त्यसबाट प्रभावित हुने गरेको पाइएको छ”, डाँगीले भन्नुभयो । धेरैजना जमघट हुने स्थानमा यो समस्या धेरैलाई सर्ने गर्दछ । डाँगीले भन्नुभयो, “धेरै विद्यार्थीमा एकै पटक यस्तो समस्या देखिने भएकाले यसलाई ‘मास हिस्टेरिया’ भनिन्छ ।” 

यसअघि पनि जिल्लाका विभिन्न विद्यालयमा यस्तो समस्या देखिने गरेको बताइएको छ । सदरमुकामको बालकल्याण नमूना मावि, तारा मावि वामरुक, नेपाल राष्ट्रिय मावि खुमेल, खुङ्ग्री, ओतलगायत विद्यालयमा यस्तो समस्या देखिएको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!