अरुण तेस्रो जलविद्युत् गृहमा अज्ञात समूहद्वारा बम विस्फोट

Posted on: 08 Feb, 2019

माघ २५, खाँदबारी | संखुवासभामा निमार्णाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहमा अज्ञात समूहले बम विस्फोटन गराएको छ । 

बिहिबार राति चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत् गृह स्थलमा तीन वटा बम विस्फोट गराइएको प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिनुभयो । घटनाको थप जानकारी लिन प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्याम सारुमगर घटनास्थल पुग्नुभएको छ । 

बम विस्फोटनबाट पानी निकाल्ने सुरुङमा रहेको सुरुङ खन्ने ब्रुमर र जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ । बम विस्फोटन गराउने समुहको खोजी भइरहेको प्रहरी निरिक्षक पण्डितले बताउनुभयो । घटनास्थलमा प्रहरी र सेनाको टोली राखिएको छ । 

बम बिस्फोट गराउने समूह सुरक्षा निकायको घेरा नाघेर जानसक्ने अवस्था नरहेको स्थानीयवासीले बताएका छन् । घटनास्थल सदरमुकाम खाँदबारीबाट पाँच घण्टाको दूरीमा पर्दछ । सञ्चार सेवा नभएका कारण अझै घटनास्थलको बिस्तृत बिवरण आइसकेको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!